सोलु एमालेले पार्टीको राष्ट्रिय कार्यशालालाई ११ बुँदे सुझाव पठाउने
सोलुखुम्बु।नेकपा एमालेको राष्ट्रिय कार्यशालाका लागि बिभिन्न सुझाव दिने निर्णयसहित नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको चौथो पुर्ण बैठक सम्पन्न भएको छ ।

जिल्ला पार्टी कार्यालय आवा डाँडामा आइतबार बसेको बैठकले संगठन सुदृढीकरणका लागि पार्टी केन्द्रले मंसिर २९ र ३० गते काठमाडौं आयोजना गर्न लागेको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशालामा प्रस्तुत गर्ने गरी सुझाव संकलन गरेको हो । बैठकले बिभिन्न ११ वटा बुँदामा जिल्ला कमिटीका तर्फबाट सुझाव संकलन गरी कार्यशालामा पठाउने तयारी गरेको जिल्ला कमिटी सचिव कल्पना राईले जानकारी दिईन् ।
सचिव राईका अनुसार बैठकले नेकपा एमालेबाट निर्वाचित स्थानीय तह,प्रदेश तथा संघिय जनप्रतिनिधिहरुको तर्फबाट जनहितमा हुने गरेका कार्यमा पार्टी संयन्त्रले समेत प्रचार प्रसारमा सहयोग गर्ने निर्णय गरेको छ ।
पार्टीको जनसंगठन तथा स्थानीय कमिटीहरुको बाँकी रहेका वडा, पालिका तथा जिल्ला अधिवेशन आयोजना गर्न सम्बन्धित क्षेत्रका ईन्चार्ज तथा प्रमुखलाई जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ । बैठकले नै जिल्ला कमिटीमा मनोनीत नयाँ सदस्यहरुलाई गोपनियताको सपथ ग्रहण गराउँदै कार्य सफलताको शुभकामना समेत ब्यक्त गरेको छ ।
जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय कमिटी सदस्य एवं सोलुखुम्बु जिल्ला ईन्चार्ज किशोर अधिकारी, कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य एवं पुर्वमन्त्री बुद्धिकुमार राजभण्डारी र पुर्व प्रदेश राज्य मन्त्री उत्तमकुमार बस्नेतको समेत उपस्थिति रहेको थियो ।

