प्रधानमन्त्री ओलीद्वारा दमकमा भ्यू टावर र मेचीनगरमा मानव सेवा आश्रम भवनको उद्घाटन



झापा।झापाको दमक वडा नं. ३ मा निर्माण भएको दमक बिजनेस कम्प्लेक्स (भ्यु टावर)को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।

आइतबार कम्प्लेक्स परिसरमा आयोजित कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले टावरको उद्घाटन गरेका हुन्।निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन नसकेको दमक भ्यू टावरको ओलीले उद्घाटन गरेका हुन्।

स्थानीय सरकार वा कुन निकायले सञ्चालन गर्ने भन्ने विषयमा अन्योल सिर्जना भइरहेको समयमा यसको स्वामित्व अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई दिने तयारी गरिएको छ।सरकारको डेढ अर्ब लगानीमा झापामा व्यावसायिक भ्यू टावर निर्माण भएको हो। सरकारले २०७६ सालमा एक अर्ब ३८ करोड रुपैयाँमा निर्माण सक्ने गरी ठेक्का लगाएको यो टावरको लागत बढेर एक अर्ब ४५ करोड (भ्याट) बाहेक पुगेको सघन सहरी तथा भवन निर्माण आयोजनाले जनाएको छ।

२०७६ सालदेखि निर्माण सुरु भएको प्रस्तावित दमक बिजनेस कम्प्लेक्स एक वर्ष अघि निर्माण सम्पन्न भइसकेको हो। २०७६ साल असार २७ गते प्रधानमन्त्री ओलीले नै यसको शिलन्यास गरेका थिए।एक सय मिटर अग्लो यो कप्लेक्स १८ औँ तलाको रहेको छ। ७२ मिटर उचाइ कंक्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको टावर रहेको छ।चिनियाँ कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम निर्माण कम्पनी जेभीले यो टावर निर्माणको जिम्मा पाएको थियो।


प्रधानमन्त्री ओलीले आजै झापाको मेचीनगर नगरपालिका- ४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवनको उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गरेका थिए।सो अवसरमा उनले आश्रमलाई आफ्नो एक महिनाको तलव सहयोग गर्ने घोषणा समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्