अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौंमा



काठमाडौं । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल आईपुगेका छन् ।

दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री लु भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने क्रममा श्रीलङ्का एयरलाइन्सको युएल १८१ नम्बरको उडानबाट ११ः३० बजे नेपाल आइपुगेका हुन् ।

काठमाडौँमा रहँदा नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने नेपालस्थित अमेरिकी राजदूतवासले जनाएको छ । उनको यो भ्रमणले अमेरिका-नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने दूतावासको भनाइ छ ।

लु अमेरिकी विदेश मन्त्रालयका प्रभावशाली सहायक मन्त्री मध्येका हुन् । उनले यसअघि पनि तीन पटक नेपालको भ्रमण गरिसकेका छन् । पछिल्लो पटक उनी गत वर्ष असार २९ गते पनि नेपाल आएका थिए ।

सहायक विदेश मन्त्री लुले प्रधानमन्त्री केपी ओलीसंग सोमबार र सत्तासझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा पूर्व प्रधानमन्त्री प्रचण्डसंग आज भेटघाट गर्ने कार्यक्रम रहेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्