मिडिया नेपालद्वारा पत्रकार महासंघको निर्बाचन बहिष्कार
काठमाडौं।नेपाल पत्रकार महासंघलाई पार्टीको भातृ संगठनको रुपमा अगाडि बढाइएको आरोप लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकटको मिडिया नेपालले मंसिर २८ गते हुने निर्बाचन बहिष्कार गरेको छ।

महासंघलाई श्रमजीवी र क्रियाशिल पत्रकारहरुको साझा थलो बनाउनु पर्ने आफुहरुको मान्यता रहेको उल्लेख गर्दै मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलद्वारा शुक्रबार जारी बिज्ञप्तिमा भनिएको छ,- ‘आफ्नो पेशा नै पत्रकारितामा बनाएका साथीहरू बाहिर बसेर कहिल्यै पत्रकारितामा नदेखिएहरुको हालिमुहालि रहेको महासंघको निर्वाचनमा मिडिया नेपालले भाग नलिने र वहिष्कार गर्ने निर्णय गरेको छ ।’
छलकपट र जालझेलकाबीच महासंघको केन्द्रीय निर्वाचनका लागि शुक्रबार मनोनयन दर्ता गरिएको आरोप पनि अध्यक्ष पौडेलले लगाएका छन्। जिन्दगी पत्रकारितामा बिताएका मान्छे महासंघको सदस्य बन्न नपाएको तर पार्टीका कार्यकर्ता एकदिन पनि पत्रकारिता नगरि सदस्य बनेको उल्लेख गर्दै जारी बिज्ञप्तिमा भनिएको छ,- ‘सक्कली पत्रकार बाहिर बसेर टुलुटुलु हेर्न र नक्कली पत्रकारको हालिमुहाली भएको नेपाल पत्रकार महासंघको चुनाव मिडिया नेपालले टुलुटुलु हेर्न सक्दैन र बहिस्कार र बिरोध गर्दछ ।’
पत्रकारको निर्बाचन नभई यो पार्टीको निर्बाचन भएको भन्दै यस्तो निर्वाचन र मतदानमा सहभागी नहुन र मतदान समेत नर्गन सक्रिय पत्रकारहरुलाई मिडिया नेपालले आव्हान पनि गरेको छ।

