वाईडबडी खरिद प्रकरण : पूर्बमन्त्री शाहीलाई ‘क्लिन चिट’, महाप्रबन्धक कंशाकारसहित चार जना दोषी ठहर



काठमाडौं।नेपाल वायुसेवा निगमको वाईडबडी विमान खरिद प्रकरणमा विशेष अदालत काठमाडौंले तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीलाई ‘क्लिन चिट’ दिएको छ ।

नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर रिटमा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले बिहीबार तत्कालीन मन्त्री शाही र दुई विदेशीसहित २७ प्रतिवादीलाई ‘क्लिन चिट’ दिएको हो।सोही मुद्दामा तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई अदालतले दोषी करार गर्दै जेल सजाय सुनाएको हो।

अदालतले निगमका तत्कालीन महाप्रबन्धक कङ्साकारलाई दुई वर्ष नौ महिना कैद हुने फैसला गरेको छ । त्यसमा बिगो एक अर्ब ४७ करोड १० लाख रुपैयाँको दामासाही हुने १२ करोड २५ लाख ९० हजार चार सय ५६ रुपैयाँ जरिवाना गरिएको छ । उनले ज्येष्ठ नागरिक ऐनअनुसार ५० प्रतिशत सजाय छुट पाउने छन् ।

निगमका सञ्चालक समितिका तत्कालीन अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीलाई एक वर्ष नौ महिना कैद सजायको फैसला भएको छ । दामासाहीले हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना भने सोही बराबरको बिगो जफतसमेत हुने फैसलामा उल्लेख छ ।

विशेष अदालतले पूर्वसचिव एवं तत्कालीन निगम सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गानालाई एक वर्ष छ महिना कैद सजाय सुनाएको छ । ढुङ्गानालाई कुल बिगोको दामासाही हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना हुने फैसला भएको छ ।

पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव बुद्धिसागर लामिछानेलाई पनि एक वर्ष छ महिना कैद सजायको फैसला भएको छ । दामासाहीले हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना लामिछानेलाई हुनेछ । बिगो असुलउपरको फैसला लामिछानेलाई पनि लागू हुनेछ ।

अदालतले जहाज खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीका तीन प्रतिनिधिलाई पनि दोषी ठहर गरेको छ । ती कम्पनीका प्रनिनिधिलाई एक वर्ष छ महिना कैद र दामासाहीले हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवानाको फैसला गरेको छ ।

प्रतिक्रिया दिनुहोस्