काँगेलमा सम्पन्न फुटसल प्रतियोगिताको उपाधि जुवुलाई,सर्वाधिक गोलकर्ता विशाल जंग
केदार बस्नेत काठमाडौं। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नं २ काँगेलमा सम्पन्न भएको खेलमा सोही पालिकाको वडा नं ५ जुवुको टीम प्रथम भएको छ।
सृजनशील युवा समाजले आफ्नो १७ औं वार्षिक उत्सवमा आयोजना गरेको जिल्ला ब्यापि फुटसल प्रतियोगिताको फाईनल खेलमा जुवुले बिहीबार आज जिल्लाको नेचासल्याँन गाउँपालिका ४ लाई २-१ गोल अन्तरले हराउँदै उपाधि उचालेको हो।
यस्तै सम्पन्न साविक वडास्तरीय भलिबल प्रतियोगितामा काँगेल ३ प्रथम भएको छ।यस्तै काँगेल १ दोस्रो र काँगेल ४ तेस्रो भएको छ ।
भलिबलतर्फ प्रथम,द्वितीय र तृतीय हुने टीमलाई क्रमश २० हजार,१० हजार र ५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिएको संस्थाका सचिव प्रकाश थुलुङले जानकारी दिए।
२५ टीम रहेको फुटसल प्रतियोगितामा नेचासल्याँन ४ दोस्रो र सोही गाउँपालिकाको वडा नं १ ले तेस्रो स्थान हात पार्न सफल भएको हो।
प्रथम हुने जुवुले नगद ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।यस्तै दोस्रो भएको नेचासल्याँन ४ ले नगद २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने नेचासल्याँन गाउँपालिका १ ले नगद १० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।
पुरुस्कार वितरण कार्यक्रम थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईको विशेष उपस्थितिमा सम्पन्न भएको हो।
सृजनशील युवा समाजको १७ वर्षअघि अर्थात २०६५ मा सामाजिक कार्य गर्ने उदेश्यले स्थापना गरिएको सचिव थुलुङले बताए ।
तिनदिन देखि सञ्चालन भएको फुटसल खेल संस्थाको आफ्नै खेलमैदानमा सम्पन्न भएको हो। उक्त खेलमा सर्वाधिक गोलकर्ता जुवुका विशाल जंग राई उत्कृष्ट खेलाडी नेचा ४ का समिर राई र उत्कृष्ट गोलरक्षक नेचा सल्यान ४ कै सुमन राई रहेका छन् ।