संसद् भवनमा विपक्षी दलहरुको बैठक, लामिछानेले मागे साथ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपक्षी दलहरुको साथ खोजेका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार आज बिहान बसेको विपक्षी दलहरुको बैठकमा पुर्व गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेले प्रहरी पक्राउविरुद्ध उभिन प्रस्ताव गरेका हुन् ।

‘सरकारले फसाउने नियत लियो । मलाई मात्र होइन, भोलि जोसुकैलाई पक्राउ गर्न सक्छ’ लामिछानेले भनेका थिए । आफूलाई जस्तै समस्या भोलिका दिनमा जोसुकैलाई आइपर्ने लामिछानेको तर्क थियो ।

‘मलाई पक्राउ गर्न सक्छ भन्ने संकेत मैले पनि पाएको छु । यसमा सबैले साथ दिनुपर्यो भन्ने रविको निवेदन थियो’, बैठकमा सहभागी विपक्षी दलका एक नेताले रहस्य खबरसँग भनेका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सभापति लामिछानेलाई पक्राउ गर्ने तयारी रहेको ब्रिफिङ गरेका थिए । बिहीबार हिजाे मात्र प्रमुख दलहरूकाे बैठकमा  सहभागी भएका प्रचण्डले त्यस्ताे संकेत गरेका हुन् । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्डकाे बालुवाटरमा भेटवार्ता भएकाे थियाे।

उक्त भेटवार्ताका आधारमा प्रचण्डले रवि लामिछाने कुनैपनिबेला पक्राउ पर्न सक्ने बताएका थिए । प्रचण्डको ब्रिफिङमा सहमत लामिछानेले पक्राउ परिने सम्भावनाबारे जानकार रहेको बताउँदै विपक्षी दलहरुको साथ मागेका थिए ।

बैठकमा सहभागी ती नेताका अनुसार बैठकले रवि लामिछानेको प्रस्तावमा कुनै निष्कर्ष भने ननिकालेको बताए । ‘प्रचण्ड र रवि लामिछानेले कुरा राखेकाे उल्लेख गरे,तर अरु नेताहरुले केही नबाेलेकाे बताए । बैठक त्यसै सकियो’, ती नेताले भने ।

आजको बैठकमा रास्वपाबाट सभापति लामिछाने उपसभापति द्धय स्वर्णिम वाग्ले तथा डोलप्रसाद अर्याल सहति ६ जना नेताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्