शैक्षिक गुणस्तर वृद्धिका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्छ : नेचासल्यान गाउँपालिका अध्यक्ष राई

सोलुखुम्बु।नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले शैक्षिक गुणस्तर वृद्धिका लागि सबै पक्ष जिम्मेवार र सक्रिय हुनुपर्ने बताउनु भएको छ।

गाउँपालिकाको वडा नं-३ स्थित श्री हिमाल दर्शन माध्यमिक विद्यालयद्वारा आयोजित ‘गाउँपालिका अध्यक्षसंग विद्यार्थी शैक्षिक अन्तरक्रिया’कार्यक्रममा अध्यक्ष राईले सो कुरा बताउनुभएको हो।अन्तरक्रियामा विद्यार्थीहरुले सोधेका प्रश्नको उत्तर दिंदै गाउँपालिका अध्यक्ष राईले गुणस्तरीय शिक्षाका लागि कुनै एउटा पक्षको मुख नताकी स्थानीय सरकार,विद्यालय व्यवस्थापन समिति,शिक्षक,विद्यार्थीसंगै अभिभावक पनि उत्तिकै जिम्मेवार र सक्रिय हुनुपर्ने धारणा राख्नुभयो।
विद्यालय व्यबस्थापन समितिले निर्माण गरेको शैक्षिक क्यालेन्डरमा उल्लेख भए अनुसार सो कार्यक्रमको आयोजना गरिएको सहायक प्रधानाध्यापक प्रकाश बाहिङले जानकारी दिनुभयो।विद्यालयले गत जेठ ६ गते उपाध्यक्षसंग विद्यार्थी शैक्षिक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।
व्यवस्थापन समिति अध्यक्ष ओमप्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा दर्जन बढी विद्यार्थीले अध्यक्ष राईलाई शिक्षा,स्वास्थ्य,खेलकुद र बाल अधिकारका बिषयमा प्रश्न गरेका थिए।विद्यार्थीहरुको प्रश्नको उत्तर दिँदै अध्यक्ष राईले शिक्षा क्षेत्रको बिकास गाउँ पालिकाको प्राथमिकतामा रहेको बताउँनुभएको थियो।आर्थिक श्रोतले भ्याउँने गरी विद्यार्थीहरुको माग र आवश्यकताको पहिचानका आधारमा त्यसको पुर्ति गर्न गाउँपालिका सदैब तत्पर रहेको पनि वहाँले बताउनुभयो।
स्वास्थ्य सम्बन्धि बिषयमा सोधिएको प्रश्नमा अध्यक्ष राईले प्रत्येक विद्यालयमा तत्काल स्थायी रूपमा नर्स राख्न सम्भव नरहेपनि पालिका भित्रका स्वास्थ्य चौकीसंगको सल्लाह र समन्वयमा एउटा विद्यालयमा महिनाको एक पटक स्वास्थ्यकर्मीहरु परिचालन गर्न सकिने बताउनुभयो।
विद्यालय खेलकुदका लागि यस आर्थिक बर्षमा पालिकाले ४ लाख बजेट बिनियोजन गरेको जानकारी समेत अन्तरक्रियामा गराउनुभएको थियो।विद्यालयले गरेको मागका आधारमा खेलकुद सामाग्री खरिद गरि तत्काल उपलब्ध गराउने बताउनुभएको अन्तरक्रियाका सञ्चालक सहायक प्रधानाध्यापक बाहिङले रहस्य खबरलाई बताउनुभयो।

