नेपाल प्रहरीले मनायो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस

काठमाडौँ ।नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस मनाएको छ।इन्टरपोल स्थापनाको शताब्दी दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस मनाउने घोषणा गरिए अनुरूप नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित विशेष समारोहको गृहमन्त्री रमेश लेखकले दीप प्रज्वलन गरी विधिवत् रूपमा उद्घाटन गरेका हुन्।

समारोहलाई सम्बोधन गर्दै लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध,आतङ्कवाद लगायतका बहुआयमिक चुनौतीलाई सम्बोधन गर्न कानुन कार्यान्वयन गर्ने निकायहरूबिच अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताए।
गृहमन्त्री लेखकले आपराधिक क्रियाकलापहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्त्व हुने बताउनुहुँदै यस्ता आपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमा विशेषज्ञताहरू, असल अभ्यास एवम् आपसी सूचना आदान प्रदान हुनुपर्ने बताए । समाजलाई शान्त, सुरक्षित एवम् भयरहित बनाउन सबैको संयुक्त प्रयास हुनुपर्नेमा उनको जोड थियो।
समारोहमा गृहमन्त्री लेखकले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित ‘सीआईडी म्यागजिन’बिमोचन र प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीद्वारा लिखित ‘नेपाल प्रहरी’ गीत सार्वजनिक समेत गरे ।
गृहमन्त्री लेखकले दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस, २०२४ को अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने ग्लोबल कलेज अफ म्यानेजमेन्टका रुचि खरेल, द्वितीय हुने जेभियर एकेडेमीका प्रत्युश महर्जन र तृतीय हुने विश्वनिकेतन माविका निर्मल विक तथा उक्त प्रतियोगिताका मूल्याङ्कन कर्ताहरूलाई प्रशंसापत्र प्रदान गरे । साथै इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसरमा इन्टरपोल महासचिवालयद्वारा सन् २०२३ मा आयोजित ग्लोबल भिडियो कन्टेस्ट प्रतियोगितामा नेपाल प्रहरीद्वारा निर्माण गरिएको लेट्स सेभ द प्लानेट विषयक भिडियो सर्वोत्कृष्ट घोषित भएको हुँदा उक्त भिडियो निर्माण गर्ने प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरुङ श्रेष्ठलाई समेत उनले सम्मान पत्र प्रदान गरे ।

