अब पूर्ण रुपमा खुल्यो टिकटक




काठमाडाैं।नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट प्रदायकहरुलाई टिकटक चल्ने बनाउने निर्देशन दिएको छ ।भीपीएन वा वैकल्पिक विधिको प्रयोगबाट बाहेक सामान्यतया टिकटक नचलिरहेको अवस्थामा यो निर्देशनसंगै अब सम्पूर्ण रुपमा खुला भएको हो।

शुक्रबार एक निर्देशन जारी गर्दै प्राधिकरणले टिकटकमा लगाईएको रोक हटाउन निर्देशन दिएको हो।गत भदौमा ६ गते बसेको मन्त्री परिषद् बैंठकले टिकटक खोल्ने निर्णय गरेको थियो।

सरकारले राखेका चार सर्तहरू तीन महिनाभित्र कार्यान्वयन गर्न टिकटक तयार भएपछि प्रतिबन्ध खोलिएको हो। नेपाल सरकार,मन्त्रिपरिषद्को बैठकबाट सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएको हुँदा अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवाप्रदायकहरूलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छु सूचनामा भनिएको छ।

टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने सर्त तोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्