हरितालिका तीजका अवसरमा भोलि बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिने

काठमाडौँ।हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि शुक्रबार बिहान ३ बजेदेखि नै पशुपतिनाथको मन्दिरका चारवटै ढोका खोलिने भएको छ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै पशुपति क्षेत्र विकास कोषले हरितालिका तिजको अवसरमा पशुपति दर्शन गर्न आउने
दर्शनार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सकुन भन्ने उद्देश्यले सो व्यबस्था मिलाईएको जनाएको छ।
कोषका सदस्यसचिव मिलनकुमार थापाका अनुसार मन्दिर प्राङ्गण प्रवेश गर्नका लागि पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट व्यवस्था मिलाइएको छ।
यसैगरी तेस्रो लाम पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट, चौथो लाम बत्तीसपुतली–गौशालातर्फबाट पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए।

