सञ्चारमन्त्री गुरुङलाई बर्खास्त गर्न पूर्वप्रहरी संगठन प्रमुख मञ्चको माग




काठमाडौं।पूर्वप्रहरी संगठन प्रमुख मञ्चले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कारबाही गर्न माग गरेको छ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले हालै पोखरामा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर मञ्चले एक विज्ञप्तिमार्फत मंगलबार उनलाई बर्खास्त गर्न माग गरेको हो।

मन्त्री गुरुङले गत शनिबार पोखरामा आयोजित एक सार्वजनिक कार्यक्रममा ‘प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने’ भन्ने अभिव्यक्ति दिएको आरोप लागिरहेको छ।मञ्चले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञामा लिनु भई आवश्यक कारबाही गर्नु हुन पनि अनुरोध गर्दछौं।’

साथै मन्त्री गुरुङलाई उक्त बचन तत्काल फिर्ता लिई प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न पनि मञ्चले माग गरेको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सांसद भण्डारीले पनि विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्