‘८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने नबिल बैंकको निर्णय




काठमाडौँ।नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा हालै सम्पन्न विशेष साधारणसभाले बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पूँजीको माध्यमबाट पूँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले नबिलले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनका शर्त र व्यवस्था बमोजिम ५ अर्ब रुपैयाँ बराबरको नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकका अध्यक्ष पौडेलले बैंकलाई यो उचाइमा पुर्‍याउनमा शेयरधनीलगायत सरोकारवाला पक्षहरूबाट विगत लामो समयदेखि सराहनीय योगदान प्राप्त भएजस्तै यसलाई सार्थक तथा सफल बनाउने कार्यमा सहयोगको अपेक्षा गरेको बताए । आगामी वर्षहरूमा समेत आ–आफ्नो स्थानबाट बंैकको उचाइलाई थप बढाउनेतर्फ शेयरधनीलगायत सरोकारवाला पक्षहरूको महत्वपूर्ण योगदान रहने उनले बताए ।

सभाले पारित गरेको नबिल अविमोच्य असञ्चिति अग्राधिकार सेयरको मताधिकार नहुने भएकोले वर्तमान सेयरधनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानिकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिने बैंकले जनाएको छ ।

सम्बन्धित नियामकीय निकायहरूको अन्तिम स्विकृति पश्चात् कुनै संशोधन वा थप परिमार्जन आवश्यक भएमा सो समेतगरी अग्राधिकार सेयर जारी हुनेछ । विगत चार दशकदेखि गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समयमा दीगो बैंकिङ्गको अवधारणालाई अत्मसात् गरेको छ ।

प्रतिक्रिया दिनुहोस्