रक्षामन्त्री राईद्वारा काठमाडौंमा महाकुलुङ गाउँपालिकाको प्रशासनिक घुम्ती शिबिर उद्घाटन

काठमाडौं।रक्षामन्त्री मानबीर राईले महाकुलुङ क्षेत्रलाई राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गर्न आफुले समन्वय गर्ने बताएका छन्।

सोमबार सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाले काठमाडौंमा योजना गरेको २ दिने प्रशासनिक घुम्ती शिबिरको उद्घाटन गर्दै रक्षा मन्त्री राईले गाउँपालिका तथा स्थानीयबाट सो माग आएका कारण त्यसका लागि आफुले मन्त्रालयसंग समन्वय गर्ने बताएका हुन्। आफुले कहिले पनि कुनै पनि क्षेत्रलाई भेदभाव नगरेको जिकिर गर्दै वहाँले महाकुलुङ तथा कुलुङ जातिको उत्थान तथा विकासका लागि सँधै अग्रपंक्तिमा रहेर खट्न तयार रहेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पाले बार्षिक रुपमा महाकुलुङ गाउँपालिकाले काठ्माडौंमा रहेका महाकुलुङबासीलाई लक्षित गरी संचालन गर्दै आएको घुम्ति शिबिरले प्रभावकारी उपलब्धि हासिल गरेको भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउनुपर्ने बताए । उनलेे महाकुलुङलाई राष्ट्रिय निकुञ्जको रुपमा विकास गर्ने माग उठी रहँदा यसले भविष्यमा समस्या ल्याउन सक्ने भन्दै तत्काल राष्ट्रिय निकुञ्ज घोषणा गर्ने कुरालाई स्थगन गरी गाउँपालिका अन्तर्गत नै विकासका योजना बनाउनु पर्ने आवश्यक औल्याए । जनताको चाहना नै सर्वोपरी भएपनि जैविक बिबिधताको संरक्षण तथा प्राकृतिक श्रोतसाधनमा स्थानिय जनताको स्वामित्व कायम गर्न पालिका अन्र्तगत नै संरक्षण तथा सम्बद्र्धनका कार्य गर्न सकेको खण्डमा भविष्यमा सहजता हुने शेर्पाको भनाई थियो।
यसैबीच, महाकुलुङ गाउँपालिका वडा नं. ४ ले स्थानीय भत्ता प्रयोजनको लागि बर्गिकृत जिल्ला अन्र्तगत वडा नं. ४ साविक गुदेल गाविस अझ बढी दुर्गम रहेता पनि सुगम वडाको रुपमा सुचिकृत रहँदा सो क्षेत्रमा कार्यरत शिक्षकहरुलाई हालसम्म स्थानिय भत्ता उपलब्ध नगराईएको भन्दै रक्षामन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । वडा नं. ४ का वडा अध्यक्ष सरस्वती राईको नेतृत्वमा गएको टोलिले रक्षा मन्त्री मानबीर राई मार्फत शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय तथा अर्थ मन्त्रालयसँग सहजीकरणका लागि आग्रह गरेको हो । वडा नं. ४ ले रक्षा मन्त्री मार्फत नै बिभिन्न योजनाहरु समेत माग गरेको वडा अध्यक्ष राईले जानकारी दिए।

