आवुखैरेनी बस दुर्घटना : १४ जनाको शव फेला, १६ घाइतेको उद्दार



काठमाडौं।तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट मर्स्याङ्दी नदीमा भएको सवारी दुर्घटनाको उद्दारका लागि नेपाली सेनाको मेडिकल टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

एमआई १७ हेलिकप्टरमा नेपाली सेनाको मेडिकल टिम दुर्घटनास्थल तर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको शुक्रबार दुर्घटना भएको थियो।सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाका अनुसार १२:५५ बजेसम्ममा १४ जनाको शव घटनास्थलबाट निकालिएको छ भने १६ जना घाइतेलाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाएको छ।बसमा ४० जना यात्रु सवार रहेको अनुमान गरिएको छ।

दुर्घटनास्थल अप्ठ्यारो भीर र तल नदी बगिरहेको कारण उद्दारका लागि डोरीको सहायताले जानुपर्ने अवस्था रहेको प्रहरीको भनाइ छ। 

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै ऐना पहराबाट युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस खसेको हो।

प्रतिक्रिया दिनुहोस्