टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको तयारी




काठमाडौं।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक संजाल टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। मन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेका हुन्।

मन्त्रीस्तरमा भएको सो निर्णयलाई प्रस्तावका रूपमा आज बस्ने क्याबिनेट बैठकमा पेस गर्ने सञ्चार मन्त्रालयले जनाएको छ। ‘टिकटक प्लेटफर्ममाथिको रोक हटाउन स्वीकृति दिने निर्णयमा आज मन्त्री गुरुङले हस्ताक्षर गरेर क्याबिनेटमा डिसिजनका लागि पठाउनु भएको छ,’ स्रोतले भन्यो, ‘अब भोलिको क्याबिनेटले पारित गर्नेछ।’ त्यो सँगै तपाई हाम्रो मोबाइलमा टिकटक निर्वाध चल्नेछ।

बिहीबार क्याबिनेटले निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको एप टिकटक सहज रुपमा चल्नेछ। क्याबिनेट निर्णयसँगै मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन पत्र लेख्नेछ। लगत्तै, बिहीबारबाटै टिकटक चल्ने सञ्चार मन्त्रालयले दाबी गरेको छ ।

गत असोज २७ गते नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै पुस्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

टिकटकको लाइभ स्ट्रिमिङदेखि छोटा भिडिओहरू नेपाली समाजसँग मेल नखाने भएको भन्दै प्रतिबन्ध लगाउने निर्णयमा पुगेको सरकारको तर्क थियो।

प्रतिक्रिया दिनुहोस्