एमालेले हटायो तीन केन्द्रीय सदस्य, प्रदेश अध्यक्षहरुको पदीय हैषियत पनि घटुवा



काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रदेश कमिटीका अध्यक्षहरूको पदीय हैसिय घटुवा गरेको छ ।

गत १८ र २८ असार तथा १७ साउनमा बसेको सचिवालय बैठकको निर्णय, केन्द्रीय कमिटी र निकायमा पदाधिकारीसहित सदस्यको मनोनयन, केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरूको नयाँ कार्यविभाजनसम्बन्धी निर्णय जानकारी गराउन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको अन्तरपार्टी निर्देशिका (अपानी)–१० मा प्रदेश अध्यक्षहरुको पदीय हैसियत केन्द्रीय सदस्यमा सिमित गरिएको उल्लेख गरिएको छ।यसअघि प्रदेश अध्यक्षहरूको पदीय हैसियत पार्टीको पोलिटब्युरो सदस्यसरहको थियो ।

एमालेका प्रदेश अध्यक्षसम्बन्धी पछिल्लो निर्णयसँगै कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, मधेस प्रदेशका चन्द्रेश्वर मण्डल, बाग्मती प्रदेशका कैलाश ढुंगेल, गण्डकी प्रदेशका नवराज शर्मा, लुम्बिनी प्रदेशका राधाकृष्ण कँडेल, कर्णाली प्रदेशका गुलाबजंग शाह र सुदूरपश्चिम प्रदेशका कृष्णप्रसाद जैसी पदेन केन्द्रीय सदस्य भएका छन् ।

प्रदेश अध्यक्षहरूको हैसियत घटुवा गरिएको भए पनि एमालेले केन्द्रीय सल्लाहकार परिषद्, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका अध्यक्षहरूको स्थायी कमिटी सदस्यसरहको पदीय हैसियत यथावत राखेको छ।

अपानी–१० अनुसार एमालेले पुरनसिंह दयाल (बैतडी), मैना भण्डारी (गुल्मी) र तारा राई (मोरङ)लाई केन्द्रीय कमिटीबाट हटाएको छ । दयाल भूगोलको काममा नखटेको,भण्डारी बिरामी परेको र राई विदेश भएकाले जिम्मेवारीबाट हटाइएको एमाले अध्यक्ष ओलीले जारी गरेको अपानीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्