कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना



काठमाडौं।कोशी,मधेश,बाग्मती र गण्डकी प्रदेशमा मात्र वर्षा हुँदै आएकोमा लामो समयपछि देशका पश्चिमी भेगमा पनि वर्षा भएको छ। हिजो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमासमेत वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशीसहित बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुको प्रभावले र अरु ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले वर्षा भएको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै रौतहट,डडेलधुरा,लमजुङ,मोरङ,झापा,सर्लाही, सुनसरी,चितवन र गोरखामा वर्षा भएको छ ।

यस्तै गएराति पनि काठमाडौं सहित देशका धेरै ठाउँमा पानी परेको छ । पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै सिन्धुलीको दुधौलीमा ४० दशमलव ४ मिलिमिटर पानी परेको छ । अहिले काठमाडौं सहित बाग्मती र कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

दिउँसो पनि कोशी, बाग्मती, गण्डकी र मधेश प्रदेशका केही ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्