पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच ४ बुंदे सहमति



काठमाडौं । विभिन्न सात बुँदे माग राखेर आन्दोलनरत नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच ४ बुंदे सहमति भएको छ।

नेपाल आयल निगम, उद्योग मन्त्रालय र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच दिउँसो भएको बार्तामा चार बुँदे सहमति भएकाे संघले जनाएको छ ।

पेट्रोलियम पदार्थको ढुवानी रोकेर आन्दोलनमा उत्रिएको संघले उठाएका माग र यस क्षेत्रका समस्या समाधानबारे १५ दिन भित्र प्रतिबेदन पेश गर्ने कार्यदेशसहित निगमका नायव कार्यकारी निर्देशक (बजार व्यवस्था) को संयोजकत्वमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि तथा नेपाल पेट्रोलियम ट्यांकर चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघका प्रतिनिधित्व हुने गरी एक उपसमिति गठन गर्ने, नेपाल आयल निगमले व्यवसायीहरुलाई दिई आए बमोजिमको पारिश्रमिक र सुविधा ट्यांकर चालक/सहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकहरुलाई उपलब्ध गराउने व्यवसायीले प्रतिबद्धता व्यक्त गर्ने,ट्यांकर चालक संघले आफ्नो सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता गरी उपभोक्ताको हितलाई ध्यानमा राखी पेट्रोलियम पदार्थको ढुवानी कार्य गर्ने र विद्यमान कानूनी व्यवस्थाहरुको पालना सम्बन्धमा नियमित रुपमा प्रभावकारी अनुगमन गर्ने सहमति भएको बताईएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूति सचिव दिनेशकुमार घिमिरेको अध्यक्षतामा उक्त सहमति भएसंगै पेट्रोल पम्पहरुमा लागेको भीड अन्त्य हुने अपेक्षा गरिएको छ।

ढुवानी मजदुरहरूको तलब भत्ता श्रम ऐन अनुसार हुनुपर्ने र श्रमिकहरूको सुरक्षा ग्यारेन्टी गरिनुपर्नेलगायतका विभिन्न ७ बुँदे माग राख्दै पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालक आन्दोलित भएका थिए।

प्रतिक्रिया दिनुहोस्