५१ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम
काठमाडौं।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५१ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान गरेको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक प्रशासन तालिम २४औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै
प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्यक्षेत्रमा ईमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । जनतालाई सुरक्षित र सहज ट्राफिक व्यवस्थापनको महशुस गराउनुका साथै सडकमा खटिँदा सहनशील र धैर्यवान भई आफ्नो स्वास्थ्यसमेतलाई ध्यानमा राखी प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दलराम टमाटाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत वैशाख २३ गतेदेखि संचालित ३५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २१ जना र प्रहरी सहायक निरीक्षक ३० जना गरी कुल ५१ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो ।

