पार्टीमा विचार र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य सह्य हुँदैन : नेत्री शाही



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विचार र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य सह्य नहुने भन्दै राप्रपाकी महामन्त्री कुन्ती शाहीले विधानको पूर्ण पालनामा जोड दिएकी छिन् ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक पार्टी हो । त्यसैले पार्टीभित्र आन्तरिक प्रजातन्त्र र अभ्यास व्यवहारमा लागू हुनुपर्दछ । पार्टीभित्र बोल्नु पाउनु पर्दछ, विचार र अभिव्यक्ति स्वतन्त्रतामा प्रतिवन्ध लगाउने कुरा सह्य हुँदैन,’ शाहीले भनिन् ।पार्टीभित्र केही सकसपूर्ण अवस्था कार्यकर्तापंक्तिमा महसुस भएको भन्दै उनले नेतृत्वको ध्यानाकर्षण गराइन् ।

बोल्नै नहुने, बोल्यो कि कारवाही गर्ने जस्ता अप्रजातान्त्रिक रवैया आजको युगमा स्वीकार्य नहुने उनको भनाइ थियो।विधानको अक्षरक्षः पालना र आन्तरिक प्रजातन्त्रको जगमा पार्टीलाई बलियो बनाउनु पर्दछ भन्दै उनले भनिन्, ‘पार्टीप्रति आकर्षण छ तर लहरलाई आकर्षित गर्न सकिएको छैन । पार्टीले किन विश्वास जित्न सकेको छैन ? त्यसैले पार्टीमा सकारात्मक बहस र खुला छाती, प्रजातान्त्रिक आचरण र सही रणनीति आवश्यक भएको छ,’ महामन्त्री शाहीले भनिन् ।

‘एकथरीले यहाँ भाष्य निर्माण गर्न खोजे जस्तो अध्यक्षलाई कमजोर बनाउने नभएर पार्टीलाई बलियो बनाउन बहस गर्नुपर्दछ । पार्टीमा सकारात्मक बहसको खाँचो छ,’ उनले भनिन् ।राप्रपाद्वारा केन्द्रीय कार्यालयमा आयोजित कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै राप्रपा महामन्त्री शाहीले सो विचार राखेकी हुन् ।

‘सहरी क्षेत्र, तराई, पहाड र हिमालका लागि सोही अनुकूल रणनीति बनाएर बलियो संगठन निर्माण गर्नु आवश्यक छ,’ भन्दै शाहीले पार्टी नेतृत्वको ध्यानाकर्षण गरिन् । ‘नेपालगंज र झापालाई बनाउने रणनीति कर्णालीका लागि सान्दर्भिक हुँदैन । कर्णालीका लागि छुट्टै रणनीति र कार्यक्रम आवश्यक हुन्छ ।’

देश र समाजमा विद्यमान संकटको निकास राप्रपाले बोकेको नीति, सिद्धान्त नै हो, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्