वडाले अपारदर्शी काम गरेको भन्दै एमाले नेचासल्यान-३ कमिटीले दियो आन्दोलनको चेतावनी
सोलुखुम्बु।नेकपा एमाले नेचासल्यान-३ नं वडा कमिटीले जनप्रतिनिधिले मनोमानी गरेको भन्दै आन्दोलनको चेतावनी दिएको छ।

गाउँपालिकाको वडा नं ३ का वडाध्यक्ष सीताराम भट्टराईलाई मंगलबार ध्यानाकर्षण पत्र बुझाउंदै आफुले उठाएका मागहरूको सम्बोधन नभए चरणबद्द रूपमा आन्दोलन गर्ने चेतावनी दिएको हो।अध्यक्ष कल्पना घिमिरेको नेतृत्वमा वडा कार्यालय पुगेको एमाले वडा नं ३ कमिटीको टोलीले वडाध्यक्ष भट्टराईलाई बुझाएको ध्यानाकर्षणपत्रमा मनोमानी ढंगले योजनाको बाँडफाँड योजनाको रकमान्तर र आफु निकट ब्यक्तिलाई सेवा दिने कार्यले वडाको हित र समाजको उन्नती हुन नसक्ने भन्दै विगत दुई वर्ष यता वडालाई प्राप्त बजेट,खर्च भएको शीर्षक र त्यसको उपलब्धि तत्काल सार्बजनिक गर्न माग गरिएको सचिब रोशन कट्टेलले जानकारी दिए।
कमिटीले वडाध्यक्ष भट्टराईलाई बुझाएको ध्यानाकर्षणपत्रमा अगाडी भनिएको छ,’यस वडामामा प्राप्त हुने लक्षित समुहको बजेट समेत अर्को शीर्षकमा रकमान्तर गरि खर्च भएको तथा नियम विपरित बजेट निर्माणपछि रकमान्तर गरिएको समेत सुन्नमा आएकोले यस वडाबाट हालसम्म कुनकुन योजनाहरु कुन कुन उपभोक्ता समितिमार्फत संचालन भए र सम्पन्न भए त्यसको आजका मितिले एकहप्ता भित्रमा नियमानुसार सम्पूर्ण सरोकारवालाहरु माझ सार्बजनिक सुनुवाई मार्फत सार्वजनिक गराउन नेकपा एमाले नेचासल्यान गाउँपालिका वडा नं ३ कमिटी जोडदार माग गर्दछ। यदी नियमानुसार सार्बजनिक सुनुवाई नगरिएमा आन्दोलनमा उत्रन बाध्यहुने समेत जानकारी गराउँदछौ।’

