खुम्बु पासाङल्हामूमा निर्माणाधीन ङिमदोर्जी सडक बस्ती बाईपास गरेर लान खोजिएको कांग्रेसको आरोप
सोलुखुम्बु ।नेपाली कांग्रेस सोलुखुम्बुले जिल्लाको खुम्बु पासाङल्हामू गाउँपालिकाका वडा नम्बर १ पैयाँमा सडक निर्माणका क्रममा उत्पन्न विवाद समाधान गरि निर्माण कार्य अगाडी बढाउनका लागि सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको ध्यानाकर्षण गराएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य समेत रहेका पूर्बमन्त्री बलबहादुर केसी नेतृत्वको टोलीले सोमबार निमित्त प्रमुख जिल्ला अधिकारी सरोज अर्याललाई भेटी खुम्बु पासाङ ल्हामु गाउँपालिकालाई अन्य पालिका र जिल्लालाई जोड्ने मुख्य सडकको रुपमा रहेको ङिमदोर्जी सडक बस्ती वाइपास गरेर निर्माण गर्न खोजिएको भन्दै विवाद समाधानका लागि सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको नेविसंघका केन्द्रीय सदस्य दिनराज बास्तोलाले जानकारी दिए।
पूर्बमन्त्री केसी नेतृत्वको सो टोलीमा नेचासल्यान गाउँपालिका अध्यक्ष तथा काङ्ग्रेस क्षेत्र ‘क’ का सभापति धनजन राई, सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेत,कांग्रेस नेता तथा महाधिवेशन प्रतिनिधि प्रकाशसिंह कार्की,काङ्ग्रेस जिल्ला सचिव युवराज घिमिरे, महाधिवेशन प्रतिनिधि कुशराज राइ,नेपाल तरूण दलका केन्द्रीय सदस्य तथा प्रदेशका प्रवक्ता अश्विन्बाबु थापा,नेपाल विद्यार्थी संघका नेताहरु जीवन बस्नेत र विभुषण राई लगायतका नेताहरु सहभागी थिए।
स्थानीयबासीसहित वडा कार्यालयले खुम्बु पासाङ ल्हामु गाउँपालिकाको ध्यानाकर्षण गराउँदा समेत गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले स्थानीय माथि दुर्व्यवहार गर्दै एकतर्फी रूपमा सडक निर्माण गर्न खोजेको आरोप लगाउंदै कांग्रेस नेताहरुले बस्ती विचबाटै सडक निर्माण गरेर समस्याकाे समाधान गर्न पहल गर्न कार्यालयको ध्यानाकर्षण गराएको बास्तोलाको भनाई छ।
निमित्त प्रमुख जिल्ला अधिकारी अर्यालले यस विषयमा प्रशासनले आवश्यक समन्वय गर्ने बताएका थिए।

