कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ ।

विमानस्थलको क्षमता विस्तार आयोजना अन्तर्गत स्तरोन्नतिका लागि आगामी कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा बन्द हुन लागेको विमानस्थल कार्यालयले जनाएको छ। ।
नेपाल नागरिक उड्डयन प्राधिकरण,हवाई यातायात क्षमता अभिवृद्वि आयोजना अन्तर्गत हाल धावनमार्गका दुवैतर्फको विन्दुतर्फ नयाँ समानान्तर ट्याक्सी–वे निर्माण भइरहेको छ । ट्याक्सी–वे र धावनमार्ग जोड्ने लिङ्क–वे तथा जहाज पार्किङ एरिया एप्रोनसँग जोड्ने बाटो निर्माण र ह्याङ्गर क्षेत्रतर्फ एरिया विस्तारका लागि विमानस्थल बन्द गर्न लागिएको कार्यालय प्रमुख जगन्नाथ निरौलाको भनाइ छ।
हाल पाँच ठाउँबाट ट्याक्सी–वे धावनमार्गमा जोडिएकोमा चैतसम्म १० ठाउँबाट धावनमार्गलाई ट्याक्सी–वे र एप्रोनसँग जोड्ने काम सम्पन्न हुने निरौलाको भनाइ छ । उनले विमानस्थल स्तरोन्नतिको काम सकिएपछि ट्याक्सी–वे विस्तारसँगै धावनमार्गको क्षमता करिब २० प्रतिशत बढ्नुका साथै हवाई ट्राफिकमा समेत कमी आउने बताए ।
कात्तिक २३ गतेसम्म दसैँ तथा तिहार मा हुने हवाई चापसमेत कम हुँदै जाने र पर्यटकीय सिजनसमेत सकिने भएकाले उडान सेवा कम प्रभावित हुने विमानस्थल प्रमुख निरौलाले बताए।

