साउदी रियाल देखाई १४ लाख बढी रकमको धनमाल ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं।साउदी रियाल देखाई १४ लाख २१ हजार ५ सय रूपैयाँ ठगी गरी फरार रहेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-१२ जिनाखु घर भएका ३५ वर्षीय दिपक तामाङ, ४९ वर्षीय टेक बहादुर घिसिङ र ३६ वर्षीय निर बहादुर तामाङ रहेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुर र वौद्धको संयुक्त प्रहरी टोलीले काठमाडौं गोकर्णेश्वर नारायणटारबाट पक्राउ गरेको हो।
उनीहरुले रामेछाप घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-५ हरियालीनगर बस्ने ५८ वर्षीया महिला समेतका मानिसहरूलाई साउदी रियाल देखाई फाईदा हुने प्रलोभनमा पारी सुनका विभिन्न गरगहना तथा नगद समेत गरी जम्मा १४ लाख २१ हजार ५ सय रूपैयाँ बराबरको धनमाल ठगी गरी फरार रहेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।आएपछि
उनीहरूबाट साउदी अरेबियाको रियाल १ सय दरको २ थान, नेपाली रूपैयाँ १० दरको १ सय थान, प्रदेश १-०५-००१ प ८०३७ नम्बरको मोटरसाइकल १ थान, बा.४६ प ९७७५ नम्बरको स्कुटर १ थान र मोबाईल ३ थान बरामद भएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त वौद्ध पठाइएको प्रहरीले जनाएको छ ।

