गणतन्त्रको फाइदा मुठ्ठीभर नेता र आसेपासेले मात्रै उठाए : आजपा अध्यक्ष साह
काठमाडौं।आम जनता पार्टीका अध्यक्ष प्रभू साहले ठूलो बलिदानीबाट प्राप्त गणतन्त्र मुट्ठीभरको स्वार्थमा सिमित भएकोले यसको विकल्प खोज्न जरुरी भएको बताएका छन् ।

काठमाडौंको सम्वाद डबलीमा आम जनता पार्टीले हालै आयोजना गरेको ‘गणतन्त्र कस्को ? दलको कि जनताको’ विषयक सर्बपक्षीय अन्तरक्रियामा साहले अहिले देशमा वर्तमान व्यवस्था जनताको पक्षमा नरहेको बताउँदै आम जनता लाचार,तर दलका नेता र तिनका सिमित आसेपासेहरु मालामाल रहेको कहालि लाग्दो स्थितिलाई सहन नसकिने बताए।वर्तमान लुटकारी चरित्रको दलाल दलतन्त्र र भगौडा पुँजीवादी व्यवस्थाको भण्डाफोर गर्नुपर्नेमा जोड दिंदै अध्यक्ष साहको जोड छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धमेन्द्र बास्तोलाले वर्तमान संसदिय व्यवस्था दलालहरुको कब्जामा रहेको जिकिर गर्दै, यसको निकासका लागि बिद्रोह गर्नुपर्ने धारणा राखे । बास्तोलाले अहिलेको खिचडि र स्वार्थ केन्द्रीत व्यवस्थामा रहेर देश बरबाद भन्दा केही नहुने दाबी गरे । “यसको परिधिमा रहेर प्रचण्ड,केपी, प्रभू साह वा स्वयम म आफै भएपनि केही हुनेवाला छैन ।” बास्तोलाले थपे ।
नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरे,राजनीतिक विश्लेषक प्रा.डा.सुरेन्द्र केसी,नागरिक समाजका अगुवा डा. सन्दरमणी दिक्षीत,आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष तिलक थापा मगर,किरात स्वायत्त प्रदेश संघर्ष समिति संयोजक नगेन्द्र राई लगायतले संसदीय ब्यबस्थाको विकल्प खोज्न ढिला गर्न नहुने बताएका थिए।
आम जनतापार्टी उपत्यका विशेष कमिटी अध्यक्ष देवी पण्डितले सभाअध्यक्षता गरेको कार्यक्रमलाई पार्टी प्रवक्ता चन्द्र भुषण साहले सञ्चालन गरेका थिए ।

