बजेट निर्माण प्रक्रियाप्रति एमाले अध्यक्ष ओलीको असन्तुष्टि
काठमाडौं । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

सत्तारूढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।शनिबार संसद् भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अर्थमन्त्री वर्षमान पुनले नेकपा (माओवादी केन्द्र) प्रति ढल्किएको बजेट ल्याएको टिप्पणी पनि गरे ।
उनले बजेटमा रकमको बाँडफाँट पनि एकतिरमात्रै ढल्किएजस्तो देखिएको र बजेटको समग्र निर्माण प्रक्रियामा कमि देखिएको बताए। मुलुकले समाजवाद निर्माणको बाटो लिएको अवस्थामा त्यसका आधारहरू तयार गरि समाजवाद उन्मुख बजेट, नीति तथा कार्यक्रम र योजनाहरू समाउन नसिकएकाले केही अन्यौलजस्तो देखिएको उनले बताए।
बजेटमा भने राम्रा कार्यक्रहरू आएको उनको भनाइ छ। अध्यक्ष ओलीले बजेटमा देखिएका कमीलाई औल्याउँदै एमालेले बजेटलाई समर्थन र पारित गर्ने स्पष्ट पारे। उनले बजेटमा रहेका आफ्ना मतहरूलाई संसदमा हुने छलफलका क्रममा स्पष्ट राख्न र प्रयाप्त छलफल गर्दै पारित गर्ने वातावरण बनाउन आफ्ना सांसदहरूलाई निर्देशन दिए।
अध्यक्ष ओलीले बजेटमा कमी भएको औंल्याए पनि सो बजेटलाई समर्थन र पारित गरेर जाने एमालेको नीति रहेको पनि स्पष्ट पारे ।उनले सरकारले प्रतुत गरेको बजेटमाथि आफ्नो पार्टीले खुलेर छलफल गर्न चाहेको पनि बताए।यस्तै, अध्यक्ष ओलीले बजेटमा समर्थन गरेर अघि बढ्न पनि पार्टीका सांंसदहरूलाई निर्देशन दिए ।

