सहकारी बचत छानबिनका लागि संसदीय समिति गठन,यस्तो छ कार्यदेश
काठमाडौं । सहकारीको बचत रकम अपचलन प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठन गरिएको छ ।एमाले प्रमुख सचेतक महेश बर्ताैलाका अनुसार एमालेका सांसद सूर्यबहादुर थापाको नेतृत्वमा समिति गठन गरिएको हो ।

समितिमा एमालेबाट सरिता भुसाल सदस्य छिन् । नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल छन् । राप्रपाबाट धुव्रबहादुर प्रधान छन् ।
बिहान मात्रै सरकार र प्रमुख प्रतिपक्षी दलबीच सात सदस्यीय संसदीय छानबिन समिति गठन गर्नेसहित चार बुँदे सहमति भएको थियो।
यस्ता छन् सहमतिका बुँदा
१. सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने।
२. समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने।
३. नेपाल सरकार सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण गरेका अनुसूची-१ मा उल्लेख भएका संस्थाहरू लगायतका सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ता को प्रक्रिया कहाँ पुगेको छ सो को अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने ।
४. सहकारी संस्था सदस्य (शेयर धनी) एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानी नोक्सानी पुऱ्याएको भनी सङ्घीय संसद् र सार्वजनिक रूपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका अनुसूची २ मा उल्लेखित लगायतका सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी वा संस्थाहरूमा प्रवाह भएको रकमको स्थिति, सो रकम गैर कानुनी रूपमा प्रवाह भए-नभएको, र त्यस्तो गैर कानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुन बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने ।

