महाकुलुङमा युवाहरूले चलाए नमुना गाउँसभा
सोलुखुम्बु।सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा गाउँसभाको नमुना अभ्यास सम्पन्न भएको छ ।

गाउँपालिकाको आयोजना र राष्ट्रिय युवा परिषद्को सहयोगमा जेठ ११ गतेदेखि सुरु भएको चार दिने नमुना युवा गाउँ सभा अभ्यास सोमबार सम्पन्न भएको हो।गाउँपालिका अध्यक्ष सूर्य कुलुङले उद्घाटन गरेको सो कार्यक्रममा गाउँपालिकाका ५ वटै वडाका १६ देखि २४ वर्ष उमेर समूहका २६ जना युवाहरूको सहभागिता रहेको थियो।सहभागीहरूलाई गाउँ सभा, रिडिङ पेपर, नीति तथा कार्यक्रम, बजेट वक्तव्य, लोकतन्त्र, युवा नीति,युवा क्लब,युवा सञ्जाल,स्थानीय तहमा योजना तर्जुमाका चरणहरूका बारेमा सिकाइएको थियो ।
त्यस्तै गाउँ सभा पदाधिकारीहरूको भूमिका,विधेयकहरू,निर्वाचन प्रक्रिया, सूचनाको हक,गाउँ सभा सञ्चालन कार्यविधि,युवा जीवनमा मार्गदर्शनको महत्त्व, युवा सम्बन्धी काम गर्ने विभिन्न निकायहरू लगायतका विषयमा प्रशिक्षण दिइएको जिल्ला युवा समिति सोलुखुम्बुका अध्यक्ष सुजन राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त कार्यक्रममा नमुना युवा गाउँसभाको लागि पदाधिकारीहरू निर्वाचनमार्फत चयन भएका थिए । अध्यक्षमा गणेश कुलुङ,उपाध्यक्षमा सुमित्रा कुलुङ र प्रमुख प्रशासकीय अधिकृत (सचिव)को भूमिकामा सुजल कुलुङ रहनुभएको उहाँले बताउनुभयो ।
साथै कार्यक्रमबाट ११ सदस्यीय महाकुलुङ गाउँपालिकास्तरीय युवा क्लब सञ्जाल गठन भएको छ । मनिका कुलुङ को नेतृत्वमा ११ सदस्यीय सञ्जाल निर्माण गरिएको हो । कार्यक्रमका सहभागीहरूलाई राष्ट्रिय युवा परिषद्का केन्द्रीय प्रशिक्षक अभिनाश कार्कीले प्रशिक्षण दिनुभएको थियो।युवाहरूले स्थानीय शासन प्रक्रियाको बारेमा जानकारी राख्दै स्थानीय सरकारलाई निरन्तर खबरदारी सहितको रचनात्मक सहयोग गर्ने भएकाले यो कार्यक्रमको महत्त्व समेत धेरै रहेको उहाँको भनाई थियो ।

समापन कार्यक्रममा महाकुलुङ गाउँपालिकाका उपाध्यक्ष विपना कुलुङ,गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक पर्खिधन राई वडा अध्यक्ष हरु प्रदीप राई ,महल सी राई निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणकाजी बस्नेत, जिल्ला युवा समिति सोलुखुम्बु अध्यक्ष सुजन राईलगायतले मन्तव्य राख्नुभएको थियो ।कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख झमक बहादुर कटवालले गर्नुभएको थियो ।

