वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने आजपाको माग
काठमाडौं।आम जनता पार्टीले वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गर्न माग गर्दै बृहत भेलाको आयोजना गर्ने भएको छ ।

देशको प्रमुख आर्थिक केन्द्र,सबैभन्दा बढी राजस्व उठ्ने ठाउँका साथै उधोग तथा व्यापार व्यवसाय सबैभन्दा बढी भएको वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गराउन सरकारलाई दबाब दिने उदेश्यले आउँदो बुधबार वीरगंजको टाउनहलमा वृहत्त भेला गर्न लागेको आजपा मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाले जानकारी दिए ।
आजपा जिल्ला कमिटी पर्साको आयोजनामा हुन लागेको भेला पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ । भेलामा वीरगंज उधोग बाणिज्य संघ, वीरगंजका उधोगी व्यापारी, बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, बारा र पर्साका जनप्रतिनिधिहरु लगायतको विशेष सहभागिता हुने आजपा केन्द्रीय कमिटीका सचिव बाबुराम कौशीकले जानकारी दिए ।
बारा, पर्सामा सबैभन्दा बढी उधोग व्यापार हुने ठाउँ हो । सबैभन्दा बढी राजस्व वीरगंज भन्सारबाटै उठने गरेको छ’ कुशवाहाले भने,‘वीरगंज देशकै आर्थिक राजधानी भएकाले यसको बिकास त्यहीरुपमा हुनुपर्छ । राजस्व उठाउने तर यहाँ सरकारले लगानी नगर्ने बिषय राम्रो होईन् । त्यसैले हामीले वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गरेर यहाँ त्यही हिसाबले सरकारले लगानी गर्नुपर्छ भन्ने माग गरेको हो ।’
कार्यक्रमलाई सफल पार्नका लागि आजपाले बिभिन्न ठाउँमा छलफल गरिरहेको छ । बिभिन्न ठाउँमा भेला, छलफल एवं कमिटी निर्माण गर्दै आजपाका नेताहरु अगाडी बढीरहेका छन् । सोही क्रममा आज पर्साको पोखरी नगरपालिकाको वडा नं।७ मा वडा स्तरीय महिला भेला सम्पन्न भएको छ ।

