सहकारी ठगी प्रकरण : सत्तापक्षले झारा टार्ने ढंगले छानबिन समिति बनाउन खोजेको कांग्रेसको आरोप
काठमाडौं।सहकारी ठगी प्रकरणको संसदीय छानबिन समिति बनाउनेबारे टीओआर तय गर्न बसेको कार्यदलको बैठक निष्कर्षविहीन भएको छ।

सिंहदरबारमा आइतबार विभिन्न चरणमा बसेको कार्यदलको बैठकमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम समावेश गर्ने नगर्ने भन्ने सत्ता पक्ष र प्रतिपक्षबीच सहमति नभएपछि कार्यदलको बैठक निष्कर्षविहीन बनेको हो ।
बैठकपश्चात एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सैद्धान्तिक सहमतिको नजिक पुगेपनि टीओआर टुंग्याउन बाँकी रहेको जानकारी दिए। बर्तौलाले कांग्रेसले लामिछानेमाथि मात्र केन्द्रित भएकाले विषय नटुंगिएको बताए। उनले आजको प्रतिनिधि सभाको बैठकपश्चात पुन कार्यदलको बैठक बस्ने बताए। उनले आज गृहमन्त्रीले कांग्रेसले उठाएको प्रश्नको जवाफ दिने र बैठक स्थगित हुने बताए।
यसैबीच, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्ता पक्ष सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरामा जिम्मेवारपूर्ण रुपमा प्रस्तुत नभएको आरोप लगाएको छ । आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकार संसदीय समिति बनाउन तयार भए पनि आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न तयार नभएको बताए ।
उनले संसदीय समितिको नाममा झारो टार्ने काममा सरकार लागेकाले ढिला भइरहेको बताए ।

