चार जना वरिष्ठ प्रहरी अधिकृतहरूले लगाए दर्ज्यानी चिन्ह
काठमाडौं।प्रहरी अतिरिक्त महानिरीक्षकद्वय उमेश राज जोशी र भिम प्रसाद ढकाल तथा प्राविधिक प्रहरी नायव महानिरीक्षकद्वय डा. देउती गुरूङ र ई.नबिन्द अर्याल दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार मन्त्रिपरिषद्को वैशाख २७ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल तथा नेपाल सरकार उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको वैशाख २३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा गुरूङ र अर्याल गरी ४ जना वरिष्ठ प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै जिम्मेवारी वोध गरी संगठनको हितमा रणनीतिक रूपमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। आगामी दिनमा कुशल नेतृत्व प्रदान गर्न आग्रह गर्दै परिणाममुखी समन्वयका साथ सामुहिक प्रयास सहित संगठनको छवि र शिर उच्च पार्न भूमिका निर्वाह गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले नीति निर्माण र मानवश्रोत व्यवस्थापनतर्फ नेतृत्व वर्ग संवेदनशील भई काम गर्नुपर्ने उल्लेख गर्दै दायित्व निर्वाह गर्ने क्रममा आइपर्ने समस्या र चुनौतीहरू निस्तेज पार्न परिस्थितिको आँकलन गरी स्पष्ट धारणासहित तहगत जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो । राष्ट्र, संगठन र नागरिकलाई दिएको योगदानको कदर गर्दै पदोन्नति गरिएको चर्चा गर्दै उहाँले पदोन्नति पश्चात अपराध अनुसन्धान तथा नियन्त्रण समेतमा प्राविधिक क्षेत्रबाट अझ रचनात्मक योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

