लामो समयपछि सोलु कांग्रेसका नेताहरु एकै ठाउँमा
सोलुखुम्बु।एकै ठाउँ बसेर गत निर्बाचनको समिक्षा गर्न समेत आनाकानी गरिरहेका नेपाली कांग्रेस सोलुखुम्बुका प्रमुख नेताहरु लामो समयपछि शुक्रबार एउटै कार्यक्रममा देखिएका छन्।

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र ‘क’ को समन्वयमा महाकुलुङ गाउँपालिका समितिले आयोजना गरेको संगठन सुदृढीकरण अभियानमा केन्द्रदेखि जिल्ला तहसम्मका नेताहरु एकै ठाउँ देखिएका हुन्।कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय बलबहादुर केसी,आङगेलु शेर्पा,जिल्ला पार्टी सभापति नाम्गेल जाङ्बु शेर्पा, प्रकाशसिं कार्की र बिनोद बस्नेत लगायतका नेताहरू सहभागी भएका थिए।
पार्टी संगठन सुदृढीकरण सम्बन्धि अन्तरक्रियात्मक सो कार्यक्रममा नेताहरुले कम र कार्यकर्ताहरुले आफ्ना कुरा बढी राखेको नेपाल तरुण दलका केन्द्रीय सदस्य नवीन थापाले जानकारी दिए।
बिगतका तितामिठा कुराहरूलाई बिर्सिएर आगामी दिनमा एकताका साथ सशक्त ढंगले अगाडी बढ्नुपर्ने धारणा अन्तरक्रियामा बोल्ने नेता कार्यकर्ताहरुले राखेको थापाले बताए।
सोही प्रकृतिको कार्यक्रम आज सोताङ,भोलि थुलुङ दुधकोशी र सोमबार नेचासल्यान गाउँपालिका समितिले आयोजना गर्ने छन् । सोताङमा आज हुने कार्यक्रम सभापति नाम्गेल जाङ्बु शेर्पाको उपस्थिति रहने छैन।नेपाली कांग्रेसका स्वर्गीय नेता पुरुषोत्तम बस्नेतको बार्षिकीका अवसरमा पार्टीले स्मृतिसभा आयोजना गरेकाले सभापति शेर्पा लगायतका नेताहरुको सहभागीता सो कार्यक्रममा नहुने भएको बताइएको छ।

