कांग्रेस सनातन हिन्दु राष्ट्रको पक्षमा उभिनुपर्ने भन्दै आयो पूरक प्रस्ताव



काठमाडौं।नेपाली कांग्रेसका २२ जना नेताले सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा निर्णय लिन प्रस्ताव राखेका छन ।

सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा शंकर भण्डारीसहित २२ जना सदस्यले सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा निर्णय लिन सभापति शेरबहादुर देउवालाई हस्ताक्षर संकलन गरी बुझाएका छन् ।

हस्तक्षरसहितको २२ जना सदस्यले बुझाएको सामूहिक पूरक प्रस्तावमा भनिएको छ,- कांग्रेस जस्तो व्यापक जन आधारमूलक प्रजातान्त्रिक पार्टीले धार्मिक खन्भूत्ता नेपाली भूमिमा पादुर्भाव भएको बौद्ध एवम् किरात धर्म, दर्शन, संस्कृति सहित ९४ प्रतिशत भन्दा बढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिएको छ,‘महासमितिको बैठकबाट छलफल गरेर सनातन हिन्दूराष्ट्रको पक्षमा नेपाली कांग्रेस दृढतापूर्वक उभिन यो कार्यसमिति बैठकमा पूरक प्रस्तावको रूपमा वैदिक सनातन हिन्दूधर्मको पक्षमा यो प्रस्ताव पेश गरेका छौं’ सो प्रस्तावमा उल्लेख गरिएको छ ।

उक्त प्रस्ताव पेश गर्नेहरूमा शंकर भण्डारी, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली ‘स्नेही’, शुक्रराज शर्मा, इन्द्रबहादुर बानियाँ, दीलेन्द्रप्रसाद बडू, रंगमती शाही, विद्या तिमिल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजङ्गबहादुर सिंह, सीताकुमारी राना, पुष्पा भुसाल, शारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर वड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव, डा. डिला संग्रौला लगायत छन ।

प्रतिक्रिया दिनुहोस्