महाकुलुङमा आफ्नै प्रशासनिक भवनबाट सेवा उपलब्ध गराउने पहिलो वडा बन्यो वडा नं दुई



सोलुखुम्बु।प्रतिनिधिसभा सदस्य मानबीर राईले स्थानीय तहले छिटो छरितो ढंगबाट सेवा प्रवाह गर्नुपर्ने बताएका छन्।

महाकुलुङ गाउँपालिका वडा नं-२ को प्रशासनिक भवनको बिहिवार उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य राईले सो कुरा बताएका हुन्।छोटो समयमा सुन्दर प्रशासनिक भवन निर्माण गरेर त्यसबाट सेवा प्रवाह गर्न लागेकोमा निर्बाचित जनप्रतिनिधि र सम्पूर्ण वडाबासी नागरिकहरुलाई बधाई दिंदै प्रतिनिधिसभा सदस्य राईले सेवा प्रवाहमा समेत चुस्तता ल्याउन जनप्रतिनिधि र कर्मचारीहरुलाई निर्देशन दिएका थिए।

राज्य पुनसंरचनाको चरणमा महाकुलुङ नामाकरणका लागि आफुले खेलेको भूमिकाको स्मरण गर्दै उनले बिकास र समृद्धिका लागि महत्वपूर्ण स्थानीय सरकारले महत्वपूर्ण भूमिका निर्बाह गर्ने अपेक्षा गरेको बताए।नेकपा एमालेका तत्कालीन जनप्रतिनिधिहरुको पहलमा निर्मित दुधकोशी नदीको दिप्लीघाट मोटरेपुल बर्षाको बाढीले बगाएपछि सोताङ र महाकुलुङबासीले ठुलो समस्या झेलिरहेको चर्चा गर्दै प्रतिनिधिसभा सदस्य राईले पुनः निर्माणका लागि आफुले गरेको पहलप्रति गठबन्धन सरकारले खासै चासो नदिएको गुनासो गरे।

वडाध्यक्ष प्रदीप कुलुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य राईले वडाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरेका थिए।प्रशासनिक भवन उद्घाटनसंगै वडा नं-२ आफ्नै प्रशासनिक भवनबाट सेवा प्रदान गर्ने पहिलो वडा बनेको छ ।महाकुलुङ गाउँपालिकासहित अन्य वडाहरुले हालसम्म भाडाको भवनबाट नागरिकहरुलाई सेवा प्रदान गरिरहेको बताइएको छ।

वडाध्यक्ष प्रदीप कुलुङले जानकारी गराए अनुसार ६९ लाखको लागतमा चण्डेश्वरी कन्ट्रक्सनले २ तले सो भवन निर्माण सम्पन्न गरेको हो। जिल्ला समन्वय समितिले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत लागत ब्यहोर्ने गरि आर्थिक बर्ष ०७९/८० मा सम्झौता भएपनि समन्वय समितिको नयाँ निर्बाचनपछि योजना कटौती गरिएको उनले बताए।त्यसपछि गाउँपालिकाकै सम्पूर्ण लगानीमा भवन निर्माण गरिएको उनको भनाई थियो।वडा भवन निर्माणका लागि तत्कालीन समन्वय प्रमुख बीरकुमार राईको महत्वपूर्ण योगदान रहेको स्मरण वडाध्यक्ष राईले गरेका थिए।

नवनिर्मित सो भवनको पहिलो तल्लामा पांचवटा र दोस्रो तल्लामा २ वटा कोठा,एउटा सभाहल र शौचालय रहेको गाउँपालिकाले जनाएको छ।
<
सोही कार्यक्रममा ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकहरुलाई सम्मान समेत गरिएको थियो।लक्ष्य शीर्षक अन्तर्गत चालु बर्षको बजेटमा छुट्याइएको ३ लाख रुपैयाँबाट ८० जना ज्येष्ठ नागरिक, ८ जना पूर्ण अशक्त र १२ जना अशक्त गरी १०० जनालाई न्यानो कपडा( ब्ल्याङ्केट र म्याटृस)बितरण गरिएको वडाध्यक्ष कुलुङले जानकारी दिए।
उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार गोले,वडा नं १ का वडाध्यक्ष प्रखिधन राई,वडा नं ३ का वडाध्यक्ष दुर्गाबहादुर कुलुङ,वडा नं ४ का वडाध्यक्ष सरस्वती कुलुङ,वडा नं ५ का वडाध्यक्ष महलसिं कुलुङ र छिमेकी गाउँपालिका सोताङ ५ का वडाध्यक्ष मानवीर राई
२ का वडाध्यक्ष श्यामकुमार खालिङ,नेकपा एमाले जिल्ला सचिवालय सदस्य धनकुमार विक र राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य नीर कुमार राई लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्