नेचासल्यान : केदार माध्यमिक विद्यालयको ६३ औं बार्षिकोत्सव तथा २७ औं अभिभावक दिबस सम्पन्न



डिल्ली शर्मा,सोलुखुम्बु।सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं ४ स्थित श्री केदार माध्यमिक विद्यालयको ६३ औं बार्षिकोत्सब तथा २७ औं अभिभावक दिबस सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाको प्रमुख आतिथ्यता तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हेमराज कटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लेखनाथ कटेलले विद्यालयको शैक्षिक तथा प्रगति प्रतिबेदन पेश गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख निरौलाले शिक्षालाई रोजगार र उत्पादनसंग जोडेर संगसंगै लैजान जिल्लाका सबै स्थानीय तहहरुसंग समन्वय गरेर अगाडी बढिरहेको जानकारी दिंदै शिक्षालाई समय सापेक्ष र प्रबिधिमैत्री बनाउँन स्थानीय तहबीच शिक्षा ऐन निर्माणमा एकरुपता कायम गरिनुपर्नेमा जोड दिए।

नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले युगको माग अनुसारको शिक्षा प्रदान गर्न शिक्षकका आचरण र ब्यबहारमा सुधार गर्नुपर्ने बताउंदै स्थानीय पाठ्यक्रममा नैतिक शिक्षालाई बिशेष जोड दिनुपर्ने धारणा व्यक्त गरे।गाउँको आबश्यकतालाई मध्यनजर गरी शैक्षिक गतिबिधि संचालन गर्नुपर्ने उनको भनाई थियो।

कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै गाउँपालिका उपाध्यक्ष बिना राईले आजको शिक्षा प्रबिधीमैत्री, ब्यबसायिक र सीपयुक्त बनाउन सके रोजगारका अबसरबाट बन्चित हुन नपर्ने बताईन् ।

जिल्ला भित्रकै एकमात्र प्राबिधिक धार(इन्जीनियरिङ्ग)बिषयको अध्ययन अध्यापन गराईरहेको सो विद्यालयले शैक्षिक गुणस्तर कायम गर्न ३६ महिनामा ३६ लाख जम्मा गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिरहेको छ ।जस अन्तर्गत पाँच महिनामा हालसम्म २३ लाख ३६ हजार रकम प्राप्त भएको सो अवसरमा जानकारी गराइएको थियो।

कार्यक्रममा विद्यालयमा संचालित बिभिन्न अक्षयकोषबाट प्राप्त रकमबाट छनोटमा परेका विद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथै एक शैक्षिक सत्रमा उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षकहरुलाई समेत सम्मानित गरिएको थियो।कार्यक्रममा गाउँपालिकाका निमित्त प्रसासकीय अधिकृत युबराज पोखरेल,शिक्षा शाखा प्रमुख माधबमणी ढुंगाना, प्रमुख स्थानीय राजनितीक दलका प्रतिनिधि,निर्बाचित जनप्रतिनिधीहरुले समेत शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्