कतारबाट पक्राउ गरेर नेपाल फर्काईए खोटाङका राई



काठमाडौं ।खोटाङ हलेसी तुवाचुङ नगरपालिका– ७ ठेगाना भएका १९ वर्षीय किरण राईलाई कतारबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका जबरजस्ती करणी मुद्दाका फरार प्रतिबादी राईलाई एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ गरिएको हो। उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने र गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ। राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुलेको थियो ।

अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही पुस २० गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । (सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्