लिखुमा हाईड्रो निर्माण गरिरहेको दुगड ग्रुपलाई एमाले अध्यक्ष डुफको प्रश्न- ‘यो त अन्याय भएन र ?’
सोलुखुम्बु।सोलुखुम्बु र रामेछापको सीमा लिखुखोलामा जलविद्युत सञ्चालन गरिरहेको एमभी दुगड ग्रुपले विद्युत बिकास सम्बन्धि ऐन/ कानुन उल्लंघन गरेको पाईएको छ।

सम्झौता अनुसारको सामाजिक उत्तरदायित्व बहन गर्नबाट भागिरहेको मोतीलाल दुगड मुख्य लगानीकर्ता रहेको सो ग्रुपले १० प्रतिशत पानी खोलामै छोड्नुपर्ने बाध्यकारी नियम समेत उल्लंघन गरेको पाईएको नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीका अध्यक्ष डुफकुमार बास्तोलाले उल्लेख गरेका छन् ।
एमभी दुगड ग्रुपले जिल्लाको लिखुपिके गाउँपालिकाको वडा नं ५,४,३ र २ को क्षेत्रमा हुँदै बग्ने लिखुखोलामा तीन विद्युत आयोजना निर्माण गरिरहेको छ।लिखू ए -२९.५ मेघावाट ,पानहिल इनर्जि-७७ मेघावाट र ग्लोबल -५५ मेघावाट भएका तीनवटा आयोजना निर्माणका क्रममा खोलामा १० प्रतिशत पानी छोड्नुपर्ने बाध्यकारी कानुनको समेत उल्लंघन गरेको पाईएको अध्यक्ष बाँस्तोलाले सामाजिक सञ्जालमा साझा गरेका छन्।
सोमबार साझा गरिएको उनको पोष्टमा लिखु नजिकका मार्बुखोला र कोरेसी खोलाको पानी समेत पाइपमार्फत आयोजनाको टनेलमा नै लगाएको देखिएको सामाजिक सञ्जालमा उल्लेख छ।नियमानुसार छोड्नुपर्ने १० प्रतिशत पानी खोलामै बग्ने वातावरण मिलाउन नियामक निकाय,सम्बन्धित स्थानीय तह लिखुपिके, उमाकुण्ड गाउँपालिका तथा स्थानीय बासिन्दाको ध्यानाकर्षण पनि उनले गराएका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन् –
यो त अन्याय भएन र ?
सोलुखुम्बू ,लिखुपिके गाउँपालिकाको वडा न ५,४,३,२ हुदै बहने लिखुखोलामा मोतिलाल दुगड लगानीकर्ता रहेको लिखु ए -२९.५ मेघावाट ,पानहिल इनर्जि-७७ मेघावाट र ग्लोबल -५५ मेघावाट भएका तीनवटा आयोजना संचालनमा छन ।
दुर्भाग्य भन्नुपर्छ, तीनवटै आयोजनाबाट खोलामा बग्नु पर्ने १० प्रतिसत पानी बगेको देखिएन । अन्य खोलाहरु मार्बुखोला र कोरेसी खोलाको समेत पानी पाइपमार्फत विद्युत आयोजनाको टनेलमा नै लगाएको देखियो । त्यसैले खोलामा १० प्रतिसत पानी बग्ने वातावरण निर्माण गरौ ,सम्बन्धित स्थानीय तह लिखुपिके गा पा र उमाकुन्ड गाउ पालिका लगायत नियमक निकाय र स्थानीय बासिन्दाको ध्यानाकर्षण होस ।

