राष्ट्रियसभाका लागि गठबन्धनमा करिव जुट्यो सहमति,पौडेललाई मनोनीत गरिने
काठमाडौं। राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरूले भागबण्डा टुंगो लगाएका छन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट ४ दलले साझा उम्मेदवारी दिने तय भएको हो।

कांग्रेस नेता रमेश लेखकका अनुसार, निर्वाचन हुने १९ स्थानका लागि कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ स्थानमा उम्मेदवारी दिनेछन्।
क्लस्टरका विषय पनि धेरै ठाउँमा टुंगो लागिसकेको लेखकले बताए। बाँकी एकदुई ठाउँको बारेमा बसेर टुंग्याइने छ। ‘दुई तीन घण्टामा क्लस्टर पनि टुंगिन्छ’, बैठकपछि पत्रकारसँग लेखकले भने।
फागुन २० पछि राष्ट्रिय सभामा एमालेका ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीको २, जसपाको १, स्वतन्त्र १, मनोनित (एमाले) १ सांसदको पद रिक्त हुँदै छ। मनोनितबाहेक १९ स्थानका लागि माघ ११ मा निर्वाचन हुँदैछ।
सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रिय सभा सदस्यबारे पनि सहमति जुटेको छ ।

