‘भारतीय दूतावासलाई २० करोड रुपैयाँ सिधै बाँड्न दिने सम्झौता लज्जाजनक र राष्ट्रिय हित विरोधी’



काठमाडौं।नेपालस्थित भारतीय दूतावासलाई २० करोड रुपैयाँसम्म बाँड्न दिने सम्झौता लज्जाजनक र राष्ट्रहित विरोधी भएको पूर्व प्रधानमन्त्री झलनाथ खनालले बताएका छन्।

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा विदेश विभाग प्रमुख समेत रहेका खनालले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी भारतको नेपालस्थित राजदूतावासबाट २० करोड रुपैयाँका योजनाहरू नेपालभरि सोझै बाँड्न र लागू गर्न सक्ने गरि भएको सम्झौता एउटा सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका निम्ति यो लज्जाजनक र राष्ट्रिय हित विरोधी सम्झौता बताएका हुन्।

यसअघि भएको भारतीय दूतावासले पाँच करोड रुपैयाँसम्मका योजनामा सीधै खर्च गर्न पाउने व्यवस्थालाई बिस्तार गर्दै नेपाल सरकारले भारतीय विदेशमन्त्री एस. जयशंकरको भ्रमणका क्रममा बिहीबार २० करोड रुपैयाँ भारतीय दूतावासले सीधै खर्च गर्न पाउने गरी सम्झौता गरेको थियो।

देशभक्त जनताको भावना, चाहना र अपेक्षालाई कुल्चिंदै गठबन्धन सरकारले एउटा विदेशी राजदूतावासलाई सोझै २० करोडका योजनाहरू लागू गर्न दिने अकल्पनीय राष्ट्रियता विरोधी सम्झौता गर्न पुगेको भन्दै खनालले यो सम्झौताको विरोध गर्न नागरिकलाई आग्रह समेत गरेका छन्।खनालले भनेका छन्, योलापरवाहीपूर्ण र राष्ट्रहित विरोधी सम्झौता मात्र होइन, यो नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकार माथि नै खेलबाड समेत हो।’

उता,शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय दूतावासलाई सिधै २० करोड खर्च गर्न दिने सम्झौता देश हीतविपरित भएको बताएका छन्।

उनले यो सम्झौताले नेपालको स्वतन्त्रता, आर्थिक सम्पन्नतालाई अवरोध गर्ने दाबी गरे।यो सम्झौताले अनावश्यक र अवाञ्छित राजनीतिक प्रभाव,व्यवहार र हस्तक्षेपलाई प्रवेश गर्ने मौका दिने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्