प्रचण्डको अभिव्यक्तिमा गगनको प्रश्न- ‘कांग्रेससंग टिकटक बन्द गर्ने सहमति कहिले भयो?’
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका प्रमुखहरु बसेर गरेको लहडी निर्णय र सम्झौताको भारी आफूहरुले नबोक्ने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुको सहमतिमै टिकटक बन्द गरिएको बताएपछि महामन्त्री थापाले प्रधानमन्त्री दाहालको अभिव्यक्तिको खण्डन गरेका हुन्।पूर्वप्रधानमन्त्रीहरुको क्लबले बन्द कोठामा गरेको सम्झौता पार्टीहरुको सम्झौता हुन नसक्ने उनको भनाइ छ।
उनले मंगलबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्,’प्रधानमन्त्रीले भन्नुभएछ– ‘सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय गरिएको हो।’ प्रमज्यूलाई प्रश्न छ, कुन सहमति? हाम्रो पार्टी नेपाली कांग्रेससँग कहाँ र कहिले भयो छलफल? कहाँ भयो सहमति? कहिले, कसले गर्यो सहमति?’
उनी थप्छन्,’प्रमज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरूको क्लबको बन्द कोठाका बैठकमा हुने सम्झौता पार्टीहरूको बीचमा भएको सहमति नभन्नुहोस्, नभन्ठान्नुहोस्। यो तपाईंहरूबीचको समझदारी हो पार्टीहरुबीचको होइन। पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी होइन, कुनै मत पार्टीको मत हुन पार्टीभित्र छलफल हुनुपर्छ। अतः पार्टी प्रमुखहरू बसेर गर्ने यस्ता लहडी निर्णय र सम्झौताको भारी हामी बोक्दैनौँ पार्टीले बोक्न सक्दैन।’

