टिकटक बन्द गर्ने सरकारको निर्णयको चौतर्फी बिरोध, निर्णय तत्काल फिर्ता लिन आग्रह



काठमाडौं।सोमबार बिहान बसेको मन्त्री परिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेसंगै यसको चौतर्फी बिरोध सुरु भएको छ।
प्रस्तुत गरिएको सामग्रीका आधारमा नियमन गर्नुपर्नेमा पूर्ण रूपमा बन्द गर्नु उचित नभएको भन्दै सत्तारुढ र प्रतिपक्षी दलका प्रभावशाली नएताहरुले तत्काल निर्णय फिर्ता लिन सरकारसंग आग्रह गरेका छन्।सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिंदै उनीहरूले सरकारको यो निर्णय अभिव्यक्ति स्वतन्त्रता बिपरित भएको टिप्पणी समेत गरेका छन्।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै एउटा मात्र सामाजिक सञ्जाल प्लेटफार्मलाई प्रतिबन्ध लगाउनु उचित नभएको बताएका छन् ।

सोमबार सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि उनले यो उचित नभएको बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै बन्द गर्ने कुरा उचित भएन है । अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य होइन ।’

उनले सामाजिक सञ्जालमा प्रस्तुत गरिएको सामग्रीका आधारमा नियमन गरी अराजकता र छाडापन रोक्नु उपयुक्त हुने बताएका छन् । ‘कन्टेन्ट आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त बाटो हो । ध्यान देऊ’, महासचिव पोखरेलले भनेका छन् ।

यसैगरी,नेपाली कांग्रेसका महामन्त्री विश्वकर्मा शर्माले टिकटक बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा द्वेष फैलाउनेलाई पहिचान गर्न आग्रह गर्दै महामन्त्री शर्माले टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक भएकाे बताएका छन।उनले लेखेका छन्, ‘सरकार स्पष्ट होस्, राज्यले स्वच्छन्दता नियन्त्रण गर्ने हो, स्वतन्त्रता नियन्त्रण गर्ने होइन । सामाजिक-धार्मिक सहिष्णुताको रक्षा समाजको आत्मानुशासन र सरकारको सुशासनले हुने हो । सामाजिक सञ्जाललाई आत्मानुशासनमा कसरी ल्याउने भन्नेबारेमा खुला छलफल गरौँ, तार्किक निष्कर्ष पहिल्याऔँ र पालना गरौँ । टिकटक बन्दको निर्णय अविलम्ब फिर्ता गर ।’

त्यसैगरी,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टिकटक बन्द गर्ने सरकारकाे निर्णयप्रति आपत्ति जनाउनुभएकाे छ ।सभापति लामिछानेले सामाजिक सञ्जाललाई बन्द गर्ने नभई नियमन गर्नुपर्ने बताउनुभएकाे छ । उहाँले लेख्नुभएकाे छ, ‘सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन । समस्या कन्टेन्टको हो, प्लेटफर्मकाे होइन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका सबै प्रयाेगकर्ता र विषय खराब छैनन् ।प्राविधिकरूपमा खराबलाई नियन्त्रण गर्न सकिन्छ ।’

उता,राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णयपछि अध्यक्ष लिङ्देनले यो निर्णय निरंकुशताको बाटो भएको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्