आज तिहारको तेस्रो दिन : गाईको पूजाआजा गरिंदै



काठमाडौं।कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको आज तेस्रो दिन आज गाईको पूजाआजा गरी गाई तिहार मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनेर पनि सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको बताइएको छ ।

गाईको पूजा गरी आजका दिन मिठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाई छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । ‘कार्तिक कृष्ण औँसीको गाईतिहार सोमबार भए पनि साँझ वा रात्रिमा तिथि नरहने भएका कारण आइतबार नै लक्ष्मीपूजा गरिएको हो’ ।

प्रतिक्रिया दिनुहोस्