यमपञ्चक सुरु,आज काग तिहार



काठमाडौं।हिन्दु धर्मावलम्बी नेपालीहरूको दोस्रो ठुलो चाड तिहार आजदेखि विधिवत रूपमा सुरु भएको छ। आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ ।

तिहारको पहिलो दिन आज काग तिहार मनाइदैछ । धार्मिक मान्यता अनुसार यमराजको सन्देश वाहकको रूपमा मानिएको कागलाई यमदूतकै रूपमा लिई पूजा अर्चना गरेर चोखो खानेकुरा दिने गरिन्छ।कागले अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्रा खाइदिन्छ ।

तिहारको पहिलो दिन आज कागको पूजा गरेर काग तिहार मनाएपछि चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाई पूजा, गोवर्द्धन पूजा, नेपाल संवत् ११३५ र म्ह पूजा ९आत्म पूजा० एवं अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटिका लगाई तिहार पर्व मनाइन्छ ।

धार्मिक मान्यता अनुसार वैदिक कालमा भगवान् विष्णु खुसी भई बलिराजलाई कार्तिक कृष्णपक्षको अन्तिम पाँच दिन तीनै लोकको राज्य माग गर्न पाएस् भनी वरदार दिएको र अन्तिम पाँच दिन बलि राजाले आफ्नो राज्यभरि दीपावली गरेको कथासँग जोडिएको छ ।

यो पर्वको अवसरमा अधिष्ठात्री देवी महालक्ष्मी खुसी भई सबैको घरघरमा बास गरी धनधान्यले भरिपूर्ण पारिदिन्छिन् भन्ने मान्यता पनि रहने गर्दछ । यो अवसरमा यमराज खुसी हुन्छन् भनी भगवान् विष्णुले बलि राजालाई वरदान दिएको मानिन्छ ।

बलिराजले राज्य गर्ने पाँच दिन यमराजले फुर्सद पाउने भएकाले आफ्नी बहिनी यमुनाकहाँ गई यमराजले बहिनी यमुनाको पूजा गरी वस्त्र, आभूषणहरू दिएर भ्रातृ स्नेह जनाएकाले यमपञ्चकको दिन दाजु भाइ र दिदीबहिनीले पूजा गरी भाइटिका मनाउँदा दाजुभाइको आयु, कीर्ति, सुख र सम्पन्नतामा वृद्धि हुने विश्वास अनुरूप यमपञ्चकलाई विशेष श्रद्धाभक्तिपूर्वक धूमधामसँग मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्