खरिद गरेको झण्डै चार महिनापछि प्रयोगमा आयो नेचासल्यानको कृषि एम्बुलेन्स
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।पार्किङमा थन्किएको झण्डै चार महिनापछि नेचासल्यान गाउँपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स पहिलो पटक प्रयोगमा आएको छ।
कृषिजन्य बस्तुहरुको बजार प्रबर्द्धनमा कृषकहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले गाउँपालिका अध्यक्ष धनजन राईको पहलमा गत श्रावणमा खरिद गरिएको कृषि एम्बुलेन्सलाई धनकमल बहुउद्देश्यीय कृषि तथा पशुपञ्छी फर्मले पहिलो पटक प्रयोगमा ल्याएको हो।गाउँपालिकाको वडा नं-४ फुर्केमा स्थापित सो फर्मले आलु पकेट क्षेत्रमा उत्पादित १२ सय केजी आलु बिक्रिका लागि राजधानी काठमाडौं पठाएको छ।प्रदेश सरकारको कार्यक्रम अन्तर्गत आलु पकेट क्षेत्रका लागि छनौट भएका १० जना कृषकले प्रति ब्यक्ति सरदर ५५ मुरी आलु उत्पादन गरेको फर्मकी प्रोपाइटर मोहन कुमारी भट्टराईले जानकारी दिइन्।
उत्पादित कुल परिणाममध्ये धेरै जस्तो स्थानीयस्तरमै बिक्रि बितरण भए पनि बाँकी रहेका आलु गाउँपालिकाको कृषि एम्बुलेन्स मार्फत काठमाडौं लगिएको आलु पकेट क्षेत्रमा आबद्ध स्थानीय जालपा आबिका प्रधानाध्यापक रोहित बास्तोलाले जानकारी दिए।नेचामा उत्पादित सो आलु काठमाडौंमा पुर्याएर त्यहाँको बजारमूल्य भन्दा १० रुपैयाँ कममा बिक्रि गर्ने तयारी रहेको उनको भनाइ छ।बिक्रि बितरणका आलु काठमाडौं पठाउंदा गाउँपालिकालाई ११ हजार रुपैयाँ शुल्क तिर्नुपरेको उनले बताए।काठमाडौंबाट फर्कंदा प्राथमिकताका आधारमा औषधि,कृषि जन्य सामाग्री,तरकारी वा आधारभूत आवश्यकताका बस्तु सहुलियत मूल्यमा खरिद गरेर लान सकिने गाउँपालिकाले तयार गरेको कृषि एम्बुलेन्स सञ्चालन कार्यबिधिमा उल्लेख गरिएको छ।
कृषि एम्बुलेन्स सञ्चालनका लागि गाउँपालिका आफैंले चालक नियुक्त गरेको छ।त्यसका सञ्चालनका लागि कृषि शाखामा एक फोकल पर्सन तोकिएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए।कृषि एम्बुलेन्स प्रयोगका लागि न्युनतम १ हजार केजी भन्दा माथि कृषिजन्य उत्पादन हुनै पर्ने मापदण्ड कार्यबिधिमा उल्लेख भएको उनको भनाइ छ।
संघीय सरकारले गरिव कृषकहरुको आवश्यकतालाई सम्बोधन गर्ने गरि गत आर्थिक बर्षमा बिनियोजन गरेको बजेटबाट नेचासल्यानले सो कृषि एम्बुलेन्स खरिद गरेको थियो।गाउँपालिका भित्र उत्पादित कृषिजन्य,फलफूल र मासुजन्य बस्तु बजारसम्म ढुवानी र आबश्यक सामान ढुवानीका लागि सहुलियतपूर्ण भाडा जो सुकै कृषक र जुनसुकै कृषि समूहले प्रयोग गर्न सकिने अध्यक्ष राईले बताए।