नेपाल पर्वतारोहण संघले लुम्बिनीबाट शान्तिदीप कालापत्थर लैजाने
काठमाडौं।नेपाल पर्वतारोहण संघले लुम्बिनीबाट शान्तिदीप कालापत्थर लैजाने भएको छ । हिमालयहरूलाई जलवायुले पारेको असरका विषयमा विश्वको ध्यान केन्द्रित गर्ने उद्देश्यले
लुम्बिनीबाट लगेको शान्तिदीप काठमाडौंको स्वयम्भू र बौद्धमा प्रज्ज्वलन गरेपछि मंगलबार कालापत्थर लगिने नेपाल पर्वतारोहण संघका पूर्वसचिव एवं केन्द्रीय कार्यसमिति सदस्य दिवस पोख्रेलले बताए ।
शुक्रबार बिहान लुम्बिनीस्थित एक कार्यक्रमबीच लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्यारक्याल लामाले नेपाल पर्वतारोहण संघका पूर्वसचिव एवं केन्द्रीय कार्यसमिति सदस्य दिवस पोख्रेल, सगरमाथा आरोही संघका महासचिव शिवबहादुर सापकोटा र विश्व कीर्तिमानी सगरमाथा आरोही स्पीड काजी शेर्पालाई शान्तिदीप हस्तान्तरण गरेका थिए ।
सन् २००९ मा विश्वकै अग्लो स्थान सगरमाथाको कालापत्थरमा बसेको मन्त्रिपरिषद्को बैठक स्थलमा लगेर कात्तिक २५ गते दीपलाई विश्वको ध्यान केन्द्रित हुने गरी प्रज्ज्वलन गरिने पोख्रेलले बताए ।
संघको ५०औँ वार्षिक उत्सवको अवसरमा नेपालमा रहेका हिमालयहरूलाई जलवायुले पारेको असरका विषयमा विश्वको ध्यान केन्द्रित गर्न र विश्वमा शान्तिको कामना गर्न लुम्बिनीदेखि कालापत्थरसम्मको कार्यक्रम तय गरिएको उनले बताए । सगरमाथा आरोही संघसँगको सहकार्यमा कात्तिक २५ गते कालापत्थरमा शान्तिदीप प्रज्वलन गर्नेदेखि राष्ट्रियझन्डा फराउनेलगायतका कार्यक्रम रहेको उनले बताए ।