संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसद् बैठकलाई सम्बोधन गर्दै
काठमाडौं।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दैछन्।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अपराह्न ४ बजे गुटेरेसले सम्बोधन गर्न लागेका हुन्।बैठक आरम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ। उनको सम्बोधनलगत्तै बैठकले धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।
संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै महासचिव गुटेरेसको सम्बोधनको अभिलेख राख्नेछ । बैठकको तयारी अन्तिम चरणमा पुगिसकेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। उनका अनुसार बिहान १० बजेसम्ममा साजसज्जालगायत सबै तयारी पूरा हुनेछ।
महासचिव एन्टोनियाे गुटेरेस यतिबेला अन्नपूर्ण आधार शिविरको भ्रमणमा हुनुहुन्छ।
हिजो पोखरामा बास बसेका उहाँ जलवायु परिवर्तन र हिमालयले भोगेको समस्या बुझ्न अन्नपूर्ण आधार शिविरतर्फ लाग्नु भएको छ । त्यहाँ गुटेरेसले स्थानीय बासिन्दासँग केहीबेर अन्तर्क्रिया गर्नुहुनेछ । उहाँको भ्रमणले अन्नपूर्ण आधार शिविर जोगाउन सरोकारवालाले चासो दिनेमा स्थानीय बासिन्दा आशावादी छन् । उनीहरुले जलवायु परिवर्तनले पारेको असरबारे महासचिव गुटेरेसको ध्यानाकर्षण गराउने छन् ।
हिजो गुटेरेसले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले जनजीवनमा पारेको प्रभावका बारेमा छलफल गर्नुभएको थियो । नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अन्नपूर्ण आधारशिविरबाट फर्किएपछि अहिले बिहान ८ बजे पोखरा विमानस्थलमा पत्रकारसँग कुराकानी गरेर त्यसपछि उहाँले लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम छ । गुटेरेसको लुम्बिनी भ्रमणका लागि लुम्बिनी विकास कोषले भ्रमणको सम्पूर्ण तयारी पूरा गरेको छ । गुटेरेसलाई लुम्बिनीमा भव्य रुपमा स्वागत गर्ने तयारी छ ।
गुटेरेसलाई सबैभन्दा पहिले शान्ति दीपमा लगिने र शान्ति दीपबाट मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, अशोक स्तम्भहरूको निरीक्षण गर्नुहुनेछ । लुम्बिनीमा डेढ घण्टा बिताएपछि गुटेरेस काठमाण्डाै फर्किने कार्यक्रम रहेको छ ।

