नागढुङ्गा सुरुङ मार्गका पीडित स्थानीयलाई मासिक घरभाडा उपलब्ध गराउन सिफारिस
काठमाडौं।नागढुङ्गा सुरुङ मार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका पीडितलाई मासिक घर भाडाको व्यवस्था मिलाउन लागिएको छ ।
चन्द्रागिरि नगरपालिका, नगर स्तरीय विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले पीडितलाई तत्काल मासिक घर भाडाको व्यवस्था गर्न सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले जमिन भासिएको स्थानको प्रभावित क्षेत्रका बासिन्दाहरूलाई स्थानान्तरण गर्न मासिक रु २० हजारदेखि रु २५ हजारसम्म घर भाडा व्यवस्थापन गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ।
बैठकमा नगरप्रमुख गिरीले बैठकमा तत्काल ११ घर परिवारको विवरण सङ्कलन भएको र उनीहरूलाई तत्काल स्थानान्तरण गरिने जानकारी गराउँदै थप प्रभावित भएमा सोहीअनुसार व्यवस्थापन गरिने बताउनुभएको थियो।
राष्ट्रिय गौरवको नाग ढुङ्गा सिस्ने खोला सुरुङ मार्गको मुख्य टनेल ‘ब्रेकथ्रु’ अवस्थामा पुगेको बताइएको छ । मुख्य सुरुङ मार्गको लम्बाइ दुई हजार छ सय ८८ मिटर र आकस्मिक टनेल ‘रेस्क्यु टनेल’ दुई हजार पाँच सय ७५ रहेको छ ।