मुख्यमन्त्री नियुक्त हुन बिद्रोह,बिश्वासको मतमा कार्कीलाई ऐतिहासिक सफलता
विराटनगर।पार्टीको निर्णयविरुद्ध बिद्रोह गरेर मुख्यमन्त्री बन्न सफल कांग्रेस नेता केदार कार्कीले ऐतिहासिक सफलता प्राप्त गरेका छन्।संविधानको धारा १६८ को उपधारा ५ अनुसार नेकपा एमालेको सहयोगमा गत शनिबार मुख्यमन्त्रीमा नियुक्त कार्कीले प्रदेशसभामा बुधबार भएको मतदानमा विश्वासको मतको प्रस्तावको पक्षमा ८६ मत प्राप्त गरेर ऐतिहासिक सफलता प्राप्त गरेका हुन।नियुक्त हुंदा नेकपा एमालेका ३९ र आफ्नो पार्टी नेपाली कांग्रेसका ८ गरी ४७ मत मात्र रहेका कार्कीले प्राप्त गरेको यो मत कोशी प्रदेशको अहिलेसम्मकै ठुलो हो।बिश्वासको मतको विपक्षमा ५ मतमात्र परेको छ।
विश्वासको मत दिनेहरुमा नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ सांसद छन् । राप्रपाका १ सांसद भने मतदानमा अनुपस्थित रहे ।९३ जनाको प्रदेशसभामा पहिलो पटक २०७४ फागुन २ गते संविधानको धारा १६८ को उपधारा १ अनुसार नियुक्त मुख्यमन्त्री शेरधन राईले भने विश्वासको मत लिनु परेको थिएन । त्यसबेला एमालेको एक्लै बहुमत (५१) सिट थियो ।
संविधानको धारा १८८ को उपधारा ९१० भनेको प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बनेको सरकारले विश्वासको मत लिनुपर्ने विषय संविधानमा उल्लेख छैन । उपधारा २ र ३ अनुसार बनेको सरकारले भने उपधारा ४ अनुसार र उपधारा ५ अनुसार बनेको सरकारले उपधारा ६ अनुसार विश्वासको मत लिनुपर्छ ।
शेरधन राई नेतृत्वको सरकारपछि कोशीमा एमालेकै नेता भीम आचार्यको नेतृत्वमा सरकार बन्यो । उक्त सरकार पनि उपधारा १ अनुसार नै बनेको थियो । उनले पनि विश्वासको मत लिएनन् । २०७८ भदौ ११ गते आचार्यको नेतृत्वमा बनेको सरकारले नेकपा विभाजनपछि विश्वासको मत लिनुको साटो २०७८ कार्तिक १५ गते राजीनामा गरेका थिए ।
त्यसपछि पाँच दलीय गठबन्धनबाट २०७८ कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त राजेन्द्र राईले भने २०७८ मंसिर १ गते विश्वासको मत लिएका थिए । त्यसबेला उनको प्रस्तावको पक्षमा ५० मत परेको थियो भने विपक्षमा २९ मत परेको थियो । अनुपस्थित सांसदको संख्या १२ थियो । राई संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
दोस्रो प्रदेशसभा निर्माण भएपछि फेरि एमालेका हिक्मतकुमार कार्की उपधारा २ अनुसार नै २०७९ पुस २५ गते मुख्यमन्त्री बने । उनले पुस २९ गते विश्वासको मत लिए । त्यसबेला कार्कीको प्रस्तावको पक्षमा ५९ मत परेको थियो । भने विपक्षमा कांग्रेसको २८ र समाजवादीको ४ मत परेको थियो ।
दुई पटक मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता उद्दब थापाले लिएको बिश्वासको मत सर्बोच्चले दुई पटक नै अबैधानिक ठहर गरेको थियो भने त्यसपछि दोश्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त नेकपा एमाले संसदीय दलका नेता कार्कीले बिश्वासको मत प्राप्त गर्नसक्ने अवस्था नदेखेपछी पदबाट राजीनामा गरेका थिए।