नवरात्रका अवसरमा नेचासल्यानस्थित सिंहदेवी मन्दिरमा देवी भागवत पुराण सुरु
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।जिल्लाको नेचासल्यान-३ स्थित सिंहदेवी सेवा समाज गुठीको आयोजनामा देवी भागवत पुराणको शुभारम्भ गरिएको छ ।
नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्य तथा पण्डित सिताराम तिमिल्सिनाको विशिष्ट आतिथ्यतामा सिंहदेवी मन्दिर परिसरमा आइतबार स्वस्तिवाचन गरेर पुराणको शुभारम्भ गरिएको हो। शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि राई र विशिष्ट अतिथि तिमिल्सिनाले संयुक्त रूपमा दीप प्रज्वलन गरिएको थियो ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राईले वैदिक कालदेखि चलि आएको धार्मिक आस्था र सद्भावको उदाहरण गुठीले दिएको बताउंदै जातीय सद्भाव, बन्धुत्वको भावना, भाइचाराको सम्बन्ध कायम गराउन धार्मिक कार्यक्रम सार्थक हुने धारणा व्यक्त गरे ।उनले धार्मिक स्थलहरुको संरक्षण, सम्बर्द्धन र विकासमा आफू प्रतिबद्ध रहेको बताएका थिए।
नवरात्रको घटस्थापनादेखि बिजया दशमीको दिन समापन हुने अमृतमय पुराण वाचन पण्डित सिताराम तिमिल्सिनाको मुखारविन्दबाट भइरहेको गुठीले जनाएको छ । गुठीमा हालसम्म १५८ साधरण सदस्य, १०३ जना आजीवन सदस्य र २ जना मानार्थ सदस्य रहेका छन् ।
गुठीले विगत १४ वर्षदेखि नवरात्रमा देवी भागवत पुराण लगाउँदै आएको छ । गुठी सोलुखुम्बु, ओखलढुंगा, खोटाङका विभिन्न भूभागका सदस्यहरु रहेका छन् ।